
एजेन्सी – अफगानिस्तानले पहिलो ओडिआई खेलमा घरेलु टोली श्रीलंकामाथि ६० रनको सानदार जित हात पारेको छ । योसँगै तीन ओडिआई खेलको सिरिजमा अफगानिस्तानले १–० को अग्रता लिएको छ ।
जितको लागि २ सय ९५ रनको विजयी लक्ष्य पछ्याएको श्रीलंका ३८ ओभरमा २ सय ३४ रनमा अल आउट भयो । श्रीलंकाका ओपनर पाथुम निसांकाले ८३ बलमा १० चौकासहित सर्वाधिक ८५ रन बनाए । निसांका तीव्र गतिका बलर फजलहक फारुकीको बलमा बोल्ड भए ।
तल्लोक्रमका वानिन्दु हसरंगाले ४६ बलमा १० चौका र २ छक्कासहित ६६ रनको योगदान दिए । उनी पनि फारुकीको बलमा बोल्ड भए । अन्य कुनैपनी श्रीलंका ब्याटरले राम्रो प्रदर्शन गर्न सकेनन् । कुशल मेन्डिस १, दीनेश चान्डिमल १४, धनन्जय डि सिल्भा १६, चारिथ असंलका १० र दासुन शनकाले १६ रन बनाए ।
अफगानिस्तानका तीव्र गतिका बलर फजलहक फारुकीले ९ ओभरमा ४९ रन खर्चेर ४ विकेट लिए । गुलबदीन नाइबले ८ ओभरमा ३४ रन खर्चेर ३ विकेट लिए । यमिन अहमदजाईले ६ ओभरमा ४६ रन खर्चेर २ विकेट लिए । राशिद खानले एक विकेट लिए ।
त्यसअघि पक्लेकेलेमा टस जितेर पहिला ब्याटिङ थालेको अफगानिस्तानले निर्धारित ५० ओभरमा ८ विकेट गुमाउँदै २ सय ९४ रन बनायो । अफगानिस्तानका ओपनर इब्राहिम जद्रानले १ सय २० बलमा ११ चौकासहित सर्वाधिक १ सय ६ रनको शतकीय इनिङ खेले ।
विकेटकिपर रहमानउल्लाह गुरबाज ५५ बलमा ९ चौकासहित ५३ रनमा आउट भए । पहिलो विकेटका लागि गुरबाज र जद्रानले १४.४ ओभरमा ८४ रनको साझेदारी गर्दै राम्रो सुरुवात दिलाएका थिए । रहमात शाह ६४ बलमा २ चौकासहित ५२, नाजिबउल्लाह जद्रान ४२ र गुलबदीन २२ रनमा आउट भए ।
श्रीलंका स्पिनर वानिन्दु हसरंगाले सर्वाधिक दुई विकेट लिए । कसुन रजिथा, धनन्जय डि सिल्भा, लाहिरु कुमारा र महेश थिक्सनाले एक एक विकेट लिए । दोस्रो खेल आइतबार र तेस्रो खेल बुधबार हुनेछ ।
प्रतिक्रिया