
काठमाडौं : सडक र सदन तताएको मिलियनम च्यालेन्ज अकाउन्ट नेपाल (एमसीए) ले प्रसारण लाइन निर्माणका लागि ठेक्का आह्वान गरेको छ। प्रसारण लाइनको डिजाइनदेखि सञ्चालनमा ल्याउनेसम्मको कामका लागि ठेक्का आह्वान गरिएको हो। ३ सय १५ किलोमिटरको लप्सीफेदी–रातमाटे–बुटवल प्रसारण लाइन निर्माणका लागि ठेक्का आह्वान गरिएको एमसीएका प्रवक्ता राजीव दाहालले जानकारी दिए। प्रस्तावित प्रसारण लाइनलाई तीन चरणमा विभाजन गरी ठेक्का खुलाइएको छ। जसअन्तर्गत लप्सीफेदी–रातमाटे–हेटौंडा (४०० केभी, ५९ किमि), रातमाटे–न्यु दमौली (४०० केभी, ९० किमि) र न्यु दमौली–न्यु बुटवल (४०० केभी, ९० किमि) गरी छुट्याइएको छ।न्यु दमौली–न्यु बुटवल प्रसारण बनाउनेले नै पाउने गरी न्यु बुटवलदेखि भारतको सीमासम्म १८ किलोमिटर क्षेत्रको प्रसारण लाइन बनाउने गरी अप्सनमा राखिएको छ। ठेक्का सम्झौताको काम पूरा गरी अगस्ट २०२३ बाट आयोजना निर्माणको काम सुरु गर्ने लक्ष्य लिइएको छ। निर्माण काम सुरु भएको पाँच वर्षमा प्रसारण लाइन निर्माण सम्पन्न गर्ने गरी एमसीए नेपाल र सरकारबीच सम्झौता भएको छ। अमेरिकी सरकारले एमसीसी परियोजनाअन्तर्गत दिने ५० करोड डलर अनुदान रकमबाट उक्त प्रसारण लाइन निर्माण सम्पन्न गरिनेछ।
प्रतिक्रिया