Pura Samachar

उचित व्यवस्थापन बिना नै काठमाडौँ महानगरपालिका डोजर लिएर बस्ती भत्काउन पुग्यो : राष्ट्रिय भूमि आयोग

प्रकाशित: November 29, 2022
पूरा समाचार

उचित व्यवस्थापन बिना नै काठमाडौँ महानगरपालिका डोजर लिएर बस्ती भत्काउन पुग्यो : राष्ट्रिय भूमि आयोग

काठमाडौँ – राष्ट्रिय भूमि आयोग, जिल्ला काठमाडौँले सुकुम्वासीहरुको उचित व्यवस्थापन बिना नै काठमाडौँ महानगरपालिका डोजर लिएर बस्ती भत्काउन पुगेको आरोप लगाएको छ।

आयोगले सबैको कुरा सुन्दा र बुझ्दा महानगरपालिका नै एकलौटी रुपमा अघि बढेको पाइएको बताएको हो। मंगलबार न्युज एजेन्सी नेपालसँगको कुराकानीमा राष्ट्रिय भूमि आयोगका काठमाडौँ जिल्ला अध्यक्ष श्यामकृष्ण प्रजापतिले महानगर सुकुम्वासीको उचित व्यवस्थापन नै नगरी यस किसिमले अघि बढ्छ भन्ने कल्पना नगरेको बताए।

उनले आयोग अहिले लागत संकलन कार्यमा जुटिरहेको र चुनावका बेला आचारसंहिता लागू भएकाले काम गर्न नपाएको बताए। उनले आयोगले लागत संकलन गरी वास्तविक सुकुम्वासीहरुको पहिचान नगरीकन महानगरले डोजर लिएर सुकुम्वासी बस्ती भत्काउन जाने कुरा उचित नभएको बताए।

उनले सुकुम्वासीलाई कहाँ व्यव्स्थापन गर्ने भन्नेबारेमा सोचेर मात्रै महानगर अघि बढ्न आवश्यक रहेको उल्लेख गरे। उनले सोमबार बिना कुनै जानकारी महानगरपालिका डोजर लिएर सुकुम्वासी बस्ती छिरेको भन्दै यसले बस्तीमा त्रास पैदा भएको बताए। उनले यस्ता गतिविधिलाई रोक्न र सही तरिकाबाट व्यवधानको हल निकाल्न वार्ताको विकल्प नरहेको बताए।

उनले भने, ‘महानगर यस किसिमले अघि बढ्छ भन्ने सोचेका थिएनौँ। हामीले महानगरसँग नै बैठक बस्ने भन्ने सोचेका थियौँ। महानगर एकतर्फी ढंगले अघि बढेको भन्ने जानकारी पायौँ। लागत संकलन गर्ने, वास्तविक पहिचान गर्ने र उनीहरुलाई कहाँ व्यवस्थापन गर्ने भन्नेबारेमा सोचर मात्रै अघि बढेको भए राम्रो हुन्थ्यो। एक जना पनि सुकुम्वासी भूमिहीन हुन नपरोस् भन्ने हो। वार्ता बाहेकको अर्को कुनै विकल्प नै छैन।’

अध्यक्ष प्रजापतीले सुकुम्वासीको लागि इचंगुनारायणमा बनाइएको अपार्टमेण्टमा बस्नै नदिने कुरा त्यहाँका वडाध्यक्षले गरेकाले महानगरले त्यसबारेमा स्पष्ट धारणा राख्नुपर्ने बताए। उनले यसअघि पनि सो अपार्टमेण्टमा पुगेका सुकुम्वासीहरुलाई अस्वीकार गरिसकेको र अब पनि बस्न नदिने कुरा बारम्बार स्थानीय वडाध्यक्षले भनिरहेको भन्दै महानगरले समस्या समाधानको पहल गर्न जरुरी रहेको बताए।

उक्त अपार्टमेण्टमा १३४ परिवार राख्ने कुरा रहेको भए पनि आयोगले लागत संकलन गरेपछि मात्रै यति नै सुकुम्वासीहरु छन् भन्नेकुराको यकिन हुने बताए।

यता सोमबारदेखि आन्दोलनरत थापाथली सुकुम्वासी बस्तीका बासिन्दाहरु भने गरिबलाई देखाएर सधैँ सरकारले भिख माग्ने काम गरिरहेको तर समस्या समाधान नगरेको आरोप लगाएका छन्।

सुकुम्वासी हुकुमबहादुर लामाले महानगरपालिकाले बस्ती भत्काए पनि पुनः सोही ठाउँमा बस्ने बताए। उनले बिना विकल्प जबरजस्ती उठाउनु नहुने र सधैँको लागि सबै सुकुम्वासीको समस्या समाधान हुनुपर्ने माग गरे।

प्रतिक्रिया