Pura Samachar

बालिका बलात्कार गर्नेलाई मृत्युदण्डको व्यवस्था गर्न सांसदहरुको माग

प्रकाशित: September 29, 2020

बालिका बलात्कार गर्नेलाई मृत्युदण्डको व्यवस्था गर्न सांसदहरुको माग

संघीय संसदमा प्रतिनिधित्व गर्ने सबै राजनीतिक दलका महिला सांसदहरुले १६ वर्ष मुनिका बालिकालाई बलात्कार गर्नेलाई मृत्युदण्ड दिने व्यवस्था गर्नुपर्ने बताएका छन् ।



संघीय संसदका दुबै सदनमा प्रतिनिधित्व गर्ने सवै राजनीतिक दलका महिला सांसदहरुको सोमबार सिंहदरबारमा भएको भेलामा सहभागिहरुले संविधान संशोधन गरेर कानून बनाउने र अन्तर्राष्ट्रिय सन्धि समेत संशोधन गरी मृत्युदण्डको सजायको व्यवस्था गर्नुपर्ने बताएका हुन । नेपाली कांग्रेसकी सांसद पुष्पा भुसालले १६ वर्षभन्दा मुनिकालाई बलात्कार गरेर हत्या गर्नेलाई मृत्युदण्डको सजाय दिने व्यवस्था गरी अगाडी बढ्नुपर्ने बताउनुभयो ।

भेलामा सत्तारुढ नेकपाकी सांसद शान्ता चौधरीले सबै मिलेर कानूनी कडाइको व्यवस्था गर्नुपर्नेमा जोड दिनुभयो । त्यसैगरी जनता समाजवादी पार्टीकी सांसद प्रमिला यादवले बलात्कारका घटनाहरुको अन्त्य गर्न अन्तर्राष्ट्रिय सन्धिको अध्ययन गरेर कडा कारवाहीको व्यवस्था गर्नुपर्ने बताउनुभयो ।

छलफलमा महिला तथा सामाजिक समितिकी सभापति निरुदेवी पालले नाबालकलाई बलात्कार गरेर हत्या गर्नेलाई फाँसीको सजाय हुनुपर्नेमा जोड दिनुभयो।

महिला सांसदहरुको भेलाले बालिका तथा महिलामाथि हुने बलात्कार र हत्याका घटनाविरुद्धका कानुनी प्रावधानमा कडाइ पार्नका लागि अध्ययन तथा सुझाव दिनका लागि सांसद बिन्दा पाण्डेको संयोजकत्वमा ९ सदस्यीय समिति गठन गरेको छ ।

प्रतिक्रिया