Pura Samachar

प्रहरीले नेहा चौधरी र कुमारी आमा भनेर चिनिएकी निहारिका राजपुतलाई पक्राउ

प्रकाशित: December 15, 2022
पूरा समाचार

प्रहरीले नेहा चौधरी र कुमारी आमा भनेर चिनिएकी निहारिका राजपुतलाई पक्राउ

महोत्तरी । प्रहरीले नेहा चौधरी र कुमारी आमा भनेर चिनिएकी निहारिका राजपुतलाई पक्राउ गरेको छ । सवारी साधन तोडफोड गरेपछिउनीहरुलाई महोत्तरीको रामगोपालपुरबाट नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

दाइजोको निहुँमा घरबाट निकालिएकी नेहा चौधरीले सासु र ससुरालाई पनि पक्राउ गर्नुपर्ने माग राख्दै सडक आन्दोलन सुरु गरेकी थिइन् । नेहाले आज मध्यान्हबाट महोत्तरीको रामगोपालपुर सडकमा सडक आन्दोलन सुरु गरेकी थिइन् ।

उनीसँगै निहारिका राजपुत पनि थिइन् । उनीहरु विद्यार्थी र केही युवाको सहयोगमा सडकमा टायर बालेर आन्दोलन सुरु गरेका थिए । त्यसलाई नियन्त्रण गर्न प्रहरी घटनास्थल पुगेपछि झडप भएको छ ।

महोत्तरीको रामगोपालपुर ५ मा स्थानीय र प्रहरीबीच झडप भएको हो । झडपमा ५ जना प्रहरी घाइते भएका छन् । मंसिर २६ गते घरेलु हिंसा मुद्दामा जिल्ला अदालत महोत्तरीले संरक्षणात्मक आदेश गरेपछि माइतबाट घर फर्किएकी नेहा चौधरीले घरमा प्रवेश नपाएको विषयलाई लिएर सुरु भएको आन्दोलनले झडपको रुप लिएको थियो ।

घरमा प्रवेश नपाएपछि नेहा आफ्ना श्रीमान् डा पंकज चौधरीको घरको गेटमै धर्ना बसेकी थिइन् । नेहाले पंकजको घरमा प्रवेश पाउनुपर्ने माग राख्दै गरिएको आन्दोलनमा आन्दोलनकारीहरूले ढुङ्गामुढा गर्न थालेपछि २ जना सशस्त्र प्रहरी, १ जना नेपाल प्रहरी र १ जना नगरप्रहरी घाइते भएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।

आन्दोलनलाई नियन्त्रणमा लिन प्रहरीले ५ राउन्ड अश्रुग्याँस प्रहार गरेको प्रहरीले जनाएको छ । डा चौधरीलाई नियन्त्रणमा लिएर नेहाको दाइजो मुद्दामाथी थप अनुसन्धान गरिरहेको समयमा अननवश्यक आन्दोलन चर्काएको भन्दै प्रहरीले नेहा र नेहारिकालाई समेत अहिले नियन्त्रणमा लिएर आन्दोलन मत्थर बनाउने प्रयास गरेको हो ।

प्रतिक्रिया