
काठमाडौं । प्रदूषण जाँचमा फेल हुने गाडीलाई आजदेखि एक लाख रुपैयाँसम्म जरिबाना हुने भएको छ । वातावरण विभागले गएको मंसिर २२ गते सूचना निकालेर प्रदूषण जाँचमा फेल हुने गाडीलाई पुस १ गते अर्थात् आजदेखि जरिबाना गर्ने जनाएको थियो ।
पछिल्लो समयमा काठमाण्डौ उपत्यकामा सञ्चालन भइरहेका गाडीमा धुवाँ निस्कासनको अवस्था अन्त्यन्तै दयनीय पाइएको वातावरण विभागले जनाएको छ ।
छड्के जाँचमा प्रदूषण जाँचपासको रुपमा हरियो वा अन्य स्टिकरको अवधि बाँकी रहेको अवस्थामा पनि प्रदूषण जाँच अनुत्तीर्ण हुने गाडीलाई जरिबाना गरिने विभागले जनाएको छ ।
वायु प्रदूषण नियन्त्रण गर्न सरकारले मापदण्ड भन्दा धेरै धुवाँ फ्याँक्ने गाडीमाथि कारबाही गर्न लागेको हो । वातावरण विभागका महानिर्देशक नमराज घिमिरेका अनुसार आजदेखि छड्के जाँच हुनेछ ।
वायु प्रदूषणको मुख्य कारण गाडीबाट निस्कने धुवाँ र खुल्ला रुपमा जलाउने फोहर रहेको भन्दै गाडीधनीलाई मापदण्डको पालना गर्न विभागले अनुरोध गरेको छ ।
प्रतिक्रिया