Pura Samachar

बढ्दो कोरोना सङ्क्रमण, आफू पनि सुरक्षित रहौ अरूलाई पनि सुरक्षित राखौ

प्रकाशित: September 30, 2020

बढ्दो कोरोना सङ्क्रमण, आफू पनि सुरक्षित रहौ अरूलाई पनि सुरक्षित राखौ

✍️ डा. डीआर उपाध्याय
काठमाडौं,
आश्विन १४ ।

कोरोना भाइरसको सङ्क्रमणको दिनप्रतिदिन बढ्दो छ । मंगलबार उपत्यकामा मात्रै ९ सय ३४ सङ्क्रमित थपिएका छन् । यो अहिलेसम्म उपत्यकामा एकैदिन देखिएको सबैभन्दा बढी सङ्ख्या हो । यस्तै मंगलबार देशभरमा १ हजार ५ सय १३ सङ्क्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार उपत्यकामा मंगलबारसम्म कुल सङ्क्रमितको सङ्ख्या २३ हजार २ सय ६४ पुगेको छ भने देशैभरका कुल सङ्क्रमितको सङ्ख्या ७६ हजार २ सय ५८ र सक्रिय सङ्क्रमितको सङ्ख्या २० हजार ३ सय ९६ पुगेको छ ।

मंगलबार काठमाडौं ७ सय ४७, ललितपुरमा १ सय १४ र भक्तपुरमा ७३ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । योसँगै काठमाडौंमा १८ हजार ८ सय ७७, ललितपुरमा दुई हजार ३ सय ४६ र भक्तपुरमा दुई हजार ३७ सङ्क्रमित पुगेका छन् । यतिवेला उपत्यकाको जनजीवन सामान्य देखिए पनि काठमाडौं हटस्पट बन्दै गएको पछिल्लो कोरोना सङ्क्रमितले पुष्टि गर्दछ । देशभर सक्रिय कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या २० हजार नाघेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले यसअघि नै २५ हजार सक्रिय सङ्क्रमित पुगेमा लकडाउन गर्नुपर्ने सिफारिस गरिसकेको छ ।

सरकारले यसअघि चैत ११ गते पहिलो पटक करिब चार महिना लामो लकडाउन गरेको थियो । त्यसक्रममा कोरोना सङ्क्रमणको दर एकदमै कम थियो । सङ्क्रमितहरु पनि भारत र तेस्रो देशबाट आएकाहरुमा मात्रै थिए । लकडाउन खुलेसँगै स्थानीय सङ्क्रमण देखिएपछि सरकाले काठमाडौं उपत्यकामा भदौ ३ गतेदेखि निषेधाज्ञा जारी गरेको थियो । निषेधाज्ञाले कोरोना नियन्त्रण हुन नसकेपछि जनदबाबमा परेर सरकारले यसलाई हटाइदिएको थियो । यो हटेसँगै काठमाडौं उपत्यकामा तीव्र गतिमा कोरोना फैलिँदैछ । अब सवैले होसियारी अपनाउनु पर्ने जरुरी देखिएको छ । अब पनि होसियारी अपनाउन सकिएन भने यसले छिटै धेरैलाई सताउने देखिन्छ । पछिल्ला घटनाले यी कुरा पुष्टि भएका छन् । मुलुकमा कोरोना सङ्क्रमणबाट निको हुने दर ७३.४ प्रतिशत भएको बताइएको छ । सङ्क्रमणको जोखिम कम गर्न सरकारले चालेको कदमको मात्र भर परेर हुँदैन, आफनो सुरक्षामा आफैँ ध्यान दिनुपर्ने आबश्यकता देखिएको छ । यो नै जोखिमबाट बच्ने विकल्प हो ।

लकडाउन खुकुलो बनाइएको छ । शैक्षिक संस्था सञ्चालनमा बन्देज लगाइएको छ । उपत्यकामा सवारी साधन सञ्चालनमा जोरबिजोर प्रणाली लागू गरिएको छ यतिवेला । यो बाहेक कोरोना नियन्त्रणका लागि अन्य बन्देज गरिएको छैन । यसले गर्दा मानिसको आवतजावत बाक्लिदै गएको छ । कोरोनालाई खेलाँची ठान्ने प्रवृत्ति बढेको छ । समस्या यो हो । बेलैमा होस गरौं । कोरोना सङ्क्रमणका कारण मृत्यु हुनेको दर बढेको बढै छ । यो सङ्क्रमण र मृत्युदर बढ्नुको मुख्य कारण मान्छेहरुको खेलाँची प्रवृति नै हो । यसबारेमा बेलैमा सोच्नु आवश्यक छ ।

चाडपर्व नजिकिँदै छन् । गाउँ तथा सहरमा मान्छेहरूको भिडभाडले सङ्क्रमण अझै तीव्ररूपमा बढ्न सक्ने देखिएको छ । दशैँमा बिभिन्न ठाउँबाट आफनो घर फर्किनेको लर्को लाग्ने छ । यदि उनीहरूले सतर्कता नअपनाउने हो भने अहिलेसम्म कोरोनाको सङ्क्रमण शून्य रहेको गाउँसमेत जोखिममा पर्न सक्छन् । यो जोखिमले सबैभन्दा बढी वृद्धवृद्धालाई डस्ने निश्चित छ । विज्ञहरूका अनुसार कोरोना भाइरसले तुलनात्मक रूपमा वृद्धवृद्धा र दीर्घरोगीलाई छिटो आक्रमण गर्ने गरेको छ । यो कुरा पछिल्ला घटनालेसमेत पुष्टि गरिसकेको अवस्था छ । किनकि उनीहरूमा रोगप्रतिरोधात्मक क्षमता कम हुन्छ । तत्काल यसको कुनै औषधि नभएका कारण र खोप आउन समय लाग्ने हुनाले यसबाट बच्नका लागि अबलम्बन गरिएका उपायहरूलाई पूर्ण पालना गर्दै आफू पनि सुरक्षित रहौ अरूलाई पनि सुरक्षित राखौ ।

प्रतिक्रिया