
काठमाडौं । मोरक्कोलाई हराउँदै साविक उपविजेता क्रोएशियाले विश्वकपमा तेस्रो स्थान ओगटेको छ।
अल–रायानस्थित खालिफा अन्तराष्ट्रिय स्टेडियममा शनिबार राति मोरक्कोलाई २–१ ले हराउँदै क्रोएसिया तेस्रो भएको हो। सातौ मिनेटमा जोस्को जिचार्डियोलले गोल गर्दै क्रोएशियालाई सुरुवाती अग्रता दिलाएका थिए। तर नवौं मिनेटमा मोरक्कोका लागि अच्राफ दारीले गोल गर्दै टोलीलाई १–१ को बराबरीमा ल्याए । तर खेलको ४२ औँ मिनेटमा मिस्लभ ओरसिकले गोल गर्दै क्रोएशियालाई २–१ को अग्रता दिलाए र त्यही गोल नै निर्णायक भयो ।
खेलमा दुवै टोलीले गोल गर्ने सुन्दर मौका पाएपनि त्यसलाई सदुपयोग गर्न सकेनन्। विश्वकपमा पहिलो पटक सेमिफाइलन खेलेको मोरक्कोले चौथो स्थानमा चित्त बुझाएको छ।
गत संस्करण फ्रान्ससँग पराजित हुँदै विश्वकपको उपाधि नजिक पुगेर पनि टाढिएको क्रोएसिया यो पटक सेमिफाइनलबाट अघि बढ्न सकेन। सेमिफाइनल खेलमा क्रोएशिया अर्जेन्टिनासँग ३–० ले पराजित भएको थियो।
क्वार्टरफाइनलमा मोरक्कोले पोर्चुगललाई हराउँदै पहिलो पटक अन्तिम ४ मा स्थान बनाएको थियो। तर सेमिफाइनलमा साविक विजेता फ्रान्ससँग २–० ले भएको पराजित थियो।
प्रतिक्रिया