Pura Samachar

नेपाल राष्ट्र बैंकले ऋणको किस्ता तिर्ने समय थपका लागि पनि तयारी सुरु

प्रकाशित: January 5, 2023
पूरा समाचार

नेपाल राष्ट्र बैंकले ऋणको किस्ता तिर्ने समय थपका लागि पनि तयारी सुरु

काठमाडौं। चालु पुँजी कर्जासम्बन्धी माग लगभग पुरा गरिसकेको नेपाल राष्ट्र बैंकले ऋणको किस्ता तिर्ने समय थपका लागि पनि तयारी सुरु गरेको छ।
अर्थमन्त्री विष्णु पौडेलको पहलमा राष्ट्र बैंकले पुसको ऋण तिर्ने समय थपका लागि तयारी सुरु गरेको हो। यसको जनाउ गभर्नर महाप्रसाद अधिकारीले उद्यमीहरुलाई दिइसकेका छन्।

चालु पुँजी स्थगनसहित नियमित किस्ता तिर्ने समय थप्न समेत व्यवसायीले माग गरेका थिए। चालु पुँजी मार्गदर्शन संशोधनपछि नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छा र गभर्नर महाप्रसाद अधिकारीबीच कुराकानी भएको थियो।

त्यो कुराकानीमा उनले किस्ता तिर्ने समय थपका बारेमा जिज्ञासा राखेका थिए। त्यसमा गभर्नरले बिस्तारै हुने प्रतिक्रिया दिएको गभर्नर कार्यालय स्रोतको भनाइ छ।

अर्थमन्त्री पौडेलसँग पनि व्यवसायीले व्यवसाय नचलेको, उधारो नउठेका कारणले बढेको ब्याज तिर्न समस्या भएको गुनासो गरेका थिए। महासंघ र नेपाल उद्योग परिसंघ दुवैले यसमा लचकता अपनाउन भनेका थिए।

व्यवसायीले पुसको किस्ता चैतसम्म तिर्ने व्यवस्था मिलाइ दिन भनेका थिए। उनीहरुले माग राखिरहँदा गभर्नर अधिकारी पनि सँगै थिए। त्यही बेला अर्थमन्त्रीले त्यो माग पनि पुरा हुने वाचा गरेका हुन्। त्यसपछिका भेट तथा टेलिफोन संवादमा पनि अर्थमन्त्रीले व्यवसायीलाई सहजीकरण गर्न आफू आएको भन्दै माग पुरा गर्ने वचन दिएका हुन्।

मागमा आएको संकुचनका साथै पुरानो उधारो नउठ्ने समस्याबाट ऋणीहरु प्रताडित छन्। यसबाहेक वर्ष दिनमा ऋणको ब्याज दर दोब्बरसमेत भइसकेको छ। यस्तोमा व्यवसायीले चालु पुँजीबाहेक अन्य ऋणको किस्ता तिर्ने समय अलिकति पर धकेलिदिन माग गरेका हुन्।

राष्ट्र बैंक स्रोतका अनुसार, यस बारेमा अन्तरिक छलफल भएको छ। मसान्तका दिनसम्म केही न केही निर्देशन जारी हुन्छ।

‘अगाडिबाटै पर्दैन पैसा तिर्न भन्दियो भने त सबैजना सुतेर बसे भइगो। आउने पैसा पनि अन्य तिर जान्छ,’ स्रोतको बुझाइ छ, ‘त्यसैले के कस्तो व्यवसाय अप्ठेरो परेको हो, त्यसको प्रकृति हेरेर केही समय थप्न नसकिने भने होइन।’

आफूलाई गभर्नर बनाउन महत्वपूर्ण पहल गरेका पौडेल अर्थमन्त्री भएपछि व्यवसायीको माग पुरा गर्ने भनेर प्रतिबद्धता बाँड्दै हिँडेका छन्। यस्तोमा दबाबमा रहेका गभर्नर अधिकारी एकपछि अर्को माग पुरा गर्न बाध्यजस्तै देखिएका छन्।

‘उहाँले पहिले नै अलिकति लचकता देखाएको भए राजनीतिक रुपमा पनि सजिलो हुन्थ्यो,’ एक व्यवसायीले भने, ‘त्यो देखाउन सक्नु भएन। अहिले अर्थतन्त्रको आवश्यकता अनुसार लचिलो बन्दा राजनीतिक रंग स्पष्टसँग देखिएको छ।’

एमाले निकट गभर्नर अधिकारीलाई बिचमा कार्यकर्ता भएको भन्दै विवादमा समेत तानिएका थिए। अहिले एमालेका अर्थमन्त्री आएपछि लचकता देखाउँदा पुरानो आरोप स्वत: स्थापित हुन पुगेको छ।

यद्यपि उनले आफू एमालेको कार्यकर्ता होइन भन्ने देखाउन खोजेका छन्।

अघिल्लो सरकारका अर्थमन्त्री जनार्दन शर्मासँग मात्र आफ्नो समस्या रहेको देखाउन बुधबार बिहान गभर्नरको चाहनामा नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकलम दाहालसँग भेटेका थिए। भेटमा अर्थमन्त्री पौडेलसमेत थिए।

उनले चालु पुँजी कर्जाका सम्बन्धमा के-के गर्दैछु भनेर प्रधानमन्त्रीलाई ब्रिफिङसमेत गरेका थिए। त्यसलगत्तै कार्यालय फर्किएर पत्रकार सम्मेलनमार्फत संशोधित चालु पुँजी कर्जा सार्वजनिक गरिएको थियो।

‘बिहान प्रधानमन्त्रीलाई भेटेर उहाँले अर्थतन्त्रको समस्या हल गर्न आफू सकारात्मक रहेको देखाउन खोज्नु भएको हो। उहाँले पार्टी विशेषका लागि भन्दा पनि जनार्दनका कारण काम गर्न नचाहेको सन्देश दिन खोजिएको देखिन्छ,’ प्रचण्ड निकट स्रोतले भन्यो।

प्रतिक्रिया