
काठमाडौं। लक्ष्मी बैंक र सनराइज बैंक आपसमा गाभिन सोमबार औपचारिक सम्झौता भएको छ। प्रारम्भिक सहमति अनुसार, दुबै बराबरी हैसियत अर्थात १:१ को सेयर आदान प्रदान अनुपातमा गाभिन तयार भएका हुन्। गाभिने सम्झौतापत्रमा लक्ष्मी बैंकका अध्यक्ष रमण नेपाल र सनराइज बैंकका अध्यक्ष मोतिलाल दुगडले हस्ताक्षर गरेका छन्। दुबै बैंकबाट दुई-दुई जना हुने गरी मर्जर समिति बनाइएको छ।
गाभिएपछि नाम लक्ष्मी सनराइज बैंक हुने छ।
सम्पूर्ण सम्पति तथा दायित्वको मूल्यांकन (डीडीए) को प्रतिवेदनमा ५ प्रतिशतभन्दा बढिको ‘भेरिएसन’ आएमा स्वाप रेसियो घटबढ हुन सक्छ।
‘अहिलेसम्म भएको सहमति यति हो’ सम्झौतापछि एक सञ्चालकले भने, ‘अध्यक्ष को हुने? सञ्चालक समिति के गर्ने?, प्रमुख कार्यकारी अधिकृत कसलाई बनाउने भन्ने बिषय सबै खुला छ।’
दुबै बैंकले प्रकाशित गरेको पछिल्लो वित्तीय विवरण अनुसार, लक्ष्मी बैंकको चुक्ता पुँजी ११ अर्ब ५५ करोड रुपैयाँ छ भने सनराइज बैंकको १० अर्ब ११ करोड रुपैयाँ छ।
लक्ष्मीको जगेडा कोषमा ४ अर्ब ५५ करोड छ भने सनराइजको ६ अर्ब ६९ करोड रुपैयाँ छ।
ग्राहकलाई दिइएको ऋण लक्ष्मीको एक खर्ब २९ अर्ब ६१ करोड छ। सनराइज बैंकको एक खर्ब १९ अर्ब ३७ करोड रुपैयाँ छ। निक्षेप लक्ष्मीको एक खर्ब ४० अर्ब १२ करोड र सनराइज बैंकको एक खर्ब २५ अर्ब ३९ करोड रुपैयाँ छ।
प्रतिक्रिया