
पहिलो संस्करणको नेपाल टी–२० लिग क्रिकेट प्रतियोगिताको उपाधिका लागि लुम्बिनी अल स्टार्स र विराटनगर सुपर किंग्सबीच बुधबार प्रतिस्पर्धा हुँदै छ । लिगको मंगलबार त्रिवि क्रिकेट मैदानमा भएको अन्तिम प्ले अफमा विराटनगरले जनकपुर रोयल्सलाई ३९ रनले हराउँदै लुम्बिनीविरुद्धको फाइनल भेट पक्का गरेको हो । यसअघि नै लुम्बिनी अन्तिम दुईमा पुगेको थियो । त्रिवि क्रिकेट मैदानमा विराटनगरले पहिलो ब्याटिङ गर्दै २० ओभरमा ६ विकेट गुमाएर एक सय ६७ रनको योगफल खडा गरेको थियो । प्रत्युत्तरमा जनकपुर १९.१ ओभरमा एक सय २८ रनमा समेटियो । पनि ब्याट्सम्यानले अर्धशतकीय इनिङ्स खेलेनन् । तर, चार ब्याट्सम्यानले विराटनगरलाई चुनौतीपूर्ण योगफलसम्म पुर्याए । ओपनर गौरान्सु शर्मा, अर्जुन साउद, टटाल तथा राज ननामले बलभन्दा बढी रन प्रहार गरे । गौरान्सु र अर्जुनबीच पहिलो विकेटका लागि ७.१ ओभरमा ५९ रनको साझेदारी भएको थियो । गौरान्सुले टटालसँग तेस्रो विकेटका लागि ४३ रनको साझेदारी गरे । यसैगरी, टटालले राजसँग पाँचौँ विकेटका लागि ४४ रनको साझेदारी गरेका थिए ।
गौरान्सुले ४१ बलमा समान दुई चौका र छक्का प्रहार गरी ४२ रन बनाए । अर्जुनले २६ बलमा समान दुई चौका र छक्काको सहयोगमा ३५ रनको योगदान दिए । टटालले २१ बलमा पाँच चौका प्रहार गरी ३१ रन बटुले । राजले केवल १८ बलमा २८ रन बनाउन तीन चौका र दुई छक्का प्रहार गरेका थिए । विराटनगरका कप्तान रोहितकुमार पौडेल एक रनमै आउट भए । सो ब्याटिङ इनिङ्समा चार ब्याट्सम्यानले दोहोरो रन बनाएनन् । बलिङमा जितेन्द्र मुखियाले चार ओभरमा ३८ रन खर्चंदै दुई विकेट हात पारे । असफ, ललित राजवंशी र सिन्वारीले एक–एक विकेट लिए ।
प्रतिक्रिया