Pura Samachar

रियल म्याड्रिड स्पेनिस सुपर कपको फाइनलमा प्रवेश

प्रकाशित: January 12, 2023
पूरा समाचार

रियल म्याड्रिड स्पेनिस सुपर कपको फाइनलमा प्रवेश

काठमाडौं। भ्यालेन्सियालाई हराउँदै साविक विजेता रियल म्याड्रिड स्पेनिस सुपर कपको फाइनलमा प्रवेश गरेको छ। गएराति भएको खेलमा भ्यालेन्सियालाई टाइब्रेकरमा ४-३ गोल अन्तरमा पन्छाउँदै रियल उपाधि नजिक पुगेको हो।

निर्धारित समयमा १–१ को बराबरी र त्यसपछि अतिरिक्त समयमा पनि कुनै गोल हुन नसकेपछि खेलको निर्णय टाइब्रेकरबाट लिइएको हो।

टाइब्रेकरमा रियलका कप्तान करिम बेन्जेमा, लुका मोड्रिच, टोनी क्रुस र मार्को एसेन्सियाले गोल गरे। भ्यालेन्सियाका इडिन्सन काभानी, इलेक्स मोरिवा र ह्युगो गुइलामोनले गोल गर्दा इरे कमर्ट र जोश गायाले गोल गर्न चुकेका थिए।

किङ फाद इन्टरनेसनल स्टेडियम साउदी अरेबियामा बुधबार राति भएको खेलको ३९औं मिनेटमा कप्तान बेन्जेमाकै पेनाल्टी गोलबाट रियललाई अग्रता दिलाएका थिए।

दोस्रो हाफको शुरुमै गोल गर्दै भ्यालेन्सिया खेलमा फर्कियो। ४६औं मिनेटमा स्यामुइल डियास लिनोले टोनी लाटोको पासमा गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याएका थिए। त्यसपछि थप गोल निस्कन नसक्दा खेल अतिरिक्त हुँदै टाइब्रेकरमा लम्बिएको थियो ।

अब रियलले उपाधिका लागि बार्सिलोना र रियल बेटिसबीचको विजेतासँग आइतबार राति प्रतिस्पर्धा गर्नेछ। रियल बेटिस र बार्सिलोनाले आज राति खेल्दैछन्।

यसैबीच, म्यानचेस्टर सिटी इएफएल अर्थात कारवाओ कपको क्वाटरफाइनलबाटै बाहिरिएको छ। प्रिमियर लिग टोली साउथह्यान्टनसँग गएराति २-० गोल अन्तरमा पराजित हुँदै सिटी अन्तिम आठबाटा बाहिरिएको हो।

सेन्ट मेरिज स्टेडियममा सिटीलाई स्तब्ध पार्न घरेलु टोलीका सेकोउ मारा र मोउसा जनेपोले गोल गरेका थिए।

खेलको २३औं मिनेटमा सेकोउ माराको गोल गर्दै घरेलु टोलीलाई सुरूआती अग्रता दिलाए। त्यसको ६ मिनेट भित्रै मोउसा जनेपोले गोल गर्दै साउथह्याम्टनको अग्रता दोब्बर पारे। पहिलो ३० मिनेट भित्र २-० ले पछि परेको सिटी खेलमा फर्कन सकेन।

दोस्रो हाफमा उत्कृष्ट पुनरागमन गर्दै बल पोसेसन राखे पनि घरेलु टोलीमाथि गोल गर्न असफल हुँदा साउथह्याम्टनले अग्रतालाई जोगाउँदै जित निकाल्न सफल भयो।

प्रतिक्रिया