Pura Samachar

आज म्यानचेस्टर सिटी र टोटनह्याम आमनेसामने हुँदै

प्रकाशित: January 19, 2023
पूरा समाचार

आज म्यानचेस्टर सिटी र टोटनह्याम आमनेसामने हुँदै

काठमाडौं, माघ ५ इंग्लिस प्रिमियर लिग फुटबल प्रतियोगितामा आज राति एक महत्त्वपूर्ण खेल हुँदैछ । जहाँ लिगका दुई बलिया टोलीहरू म्यानचेस्टर सिटी र टोटनह्याम सिजनको पहिलो लेगको खेलमा आमनेसामने हुँदैछन् । आज हुन लागेको खेल सातौं म्याच डे अन्तर्गतको खेल हो । बेलायतकी महारानी एलिजावेथको निधनका कारण स्थगित भएको सो खेललाई आज राति खेलाउन लागिएको हो । सातौं राउन्डमा हुनुपर्ने खेल आज रातिका लागि तय भएको छ । सोही साताको खेलमा गत राति क्रिस्टल प्यालेस र म्यानचेस्टर युनाइटेडले खेलिसकेका छन् ।

आज राति हुने खेल सिटीको घरेलु मैदानमा नेपाली समय अनुसार मधयराति १ः४५ बजेबाट सुरु हुने तालिका रहेको छ । अहिले अंक तालिकामा सिटी १८ खेलपछि ३९ अंकका साथ दोस्रो स्थानमा रहेको छ । यो सिजन उसले ३ खेल हारिसकेको छ । सिटीले पछिल्लो खेलमा म्यानचेस्टर युनाइटेडसँग उसकै घरेलु मैदानमा २–१ ले पराजित भएको थियो । सो खेलअघि सिटी कारावाओ कपको अन्तिम आठमा प्रिमियर लिगको सबैभन्दा पुछार २०औं स्थानको साउथह्यामपटनसँग पराजित भएर आउट भएको थियो । सिटीले पछिल्ला दुई खेल लगातार हारेको छ ।

यता, टोटनह्याम भने अहिले १९ खेलपछि ३३ अंकका साथ पाँचौं स्थानमा रहेको छ । टोटनह्याम पछिल्ला खेलमा पराजित भएको छ । यदि आज टोटनह्यामले सिटीलाई उसकै घरमा पराजित गर्न सके टोटनह्यामले चौथो स्थानको न्यूक्यासलसँगको अंक दूरी घटाउनेछ । टोटनह्यामले पछिल्ला ३ खेलमा मात्रै १ खेल जितेर २ खेल हारेको छ । यो उसका लागि राम्रो अवस्था छैन । आजको खेल हुँदा सिटी आफ्नो घरमा चर्को दबाबमा हुनेछ । आज सिटीलाई हारको ह्याट्रिक खाने डर र जोखिम हुनेछ ।

प्रतिक्रिया