Pura Samachar

भारतलाई सिरिजजीतकोलगि १ सय ९ रनको सामान्य लक्ष्य

प्रकाशित: January 21, 2023
पूरा समाचार

भारतलाई सिरिजजीतकोलगि १ सय ९ रनको सामान्य लक्ष्य

काठमाडौं।न्यूजिल्याण्डले एकदिवसीय क्रिकेट सिरिजको दोस्रो खेलमा भारतलाई १ सय ९ रनको सामान्य लक्ष्य दिएको छ। रायपुरको शहीद वीर नारायण सिंह अन्तर्राष्ट्रिय रंगशालामा टस हारेर पहिले ब्याटिङको मौका पाएको पाहुना टोली न्यूजिल्याण्डले ३४.३ ओभरमा सबै विकेट गुमाएर १ सय ८ रन बनायो।

उसका लागि ग्लेन फिलिप्सले सर्वाधिक ३६, मिचेल सान्टनरले २७ र माइकल ब्रेसवेलले २२ रन बनाए। बाँकी खेलाडीले दोहोरो अंकमा समेत रन बटुल्न सकेनन्। भारतका लागि मोहम्मद शामीले उत्कृष्ट बलिङ गरे।

उनले ६ ओभरमा १ मेडनसहित मात्र १८ रन खर्चिएर सर्वाधिक ३ विकेट लिए। यस्तै, हार्दिक पाण्ड्या र वाशिङ्टन सुन्दरले २/२ तथा मोहम्मद सिराज, शार्दुल ठाकुर र कुलदीप यादवले १/१ विकेट लिए।

तीन खेलको शृङ्खलामा भारत १-० ले अघि छ। अघिल्लो खेल भारतले १२ रनले जितेको थियो। भारतीय ब्याट्सम्यान शुभमन गिलले १४९ बलमा २०८ रनको शानदार पारी खेलेपछि भारतले खेल आफ्नो पोल्टा पारेको हो। भारत आज पनि जित हासिल गर्दै शृङ्खला कब्जा गर्ने दाउमा छ। न्युजिल्याण्ड भने आज जितेर शृङ्खला बराबरी गर्ने लक्ष्यमा छ।

प्रतिक्रिया