
पोर्चुगिज सुपर स्टार क्रिस्टियानो रोनाल्डोले आज साउदी अरेबियन क्लब अल नासरका लागि डेब्यू गर्दैछन्। ३७ वर्षीय रोनाल्डोले साउदी प्रो लिगअन्तर्गत आज राति हुने इत्तिफाकविरुद्धको खेलमार्फत प्रो लिग र अल नासरका लागि डेब्यू गर्ने छन्।
अल नासर र इत्तिफाकबीचको नेपाली समयअनुसार आज राति ११ः४५ बजे हुनेछ। खेल अल नासारको घरेलु मैदान मर्सुल पार्कमा हुनेछ।
पूर्वक्लब म्यान्चेस्टर युनाइटेडमै हुँदा एभर्टनका एक फ्यानको मोबालाई फ्याँकेका कारण रोनाल्डोमाथि २ खेलको प्रतिबन्ध लगाइएकाले अल नासरका लागि रोनाल्डोको डेब्यू ढिला भएको हो ।
रोनाल्डो जनवरीको सुरुमै अल नासर आएका थिए। रोनाल्डोको खेल हेर्न मर्सुल पार्क भरिने अपेक्षा गरिएको छ।
इंग्लिस क्लब म्यान्चेस्टर युनाइटेडसँगको सम्झौता रद्द गर्दै रोनाल्डो फ्रि ट्रान्सफरमा अल नासर आएका हुन्। उनले अल नासरसँग वार्षिक १७० मिलियन पाउण्ड पाउने गरी २ वर्षको सम्झौता गरेका छन्। यो कुनै पनि खेलाडीको सर्वाधिक तलब हो।
साउदीमा भने रोनाल्डोले डेब्यू गरिसकेका छन्। गत बिहीबार राति भएको फ्रेन्च क्लब पिएसजीविरुद्धको खेलमार्फत रोनाल्डोले साउदीमा डेब्यू गरेका थिए। मैत्रीपूर्ण खेलमा रियादका दुई क्लब अल नासर र अल हिलालको संयुक्त टिमको नेतृत्व रोनाल्डोले गरेका थिए। खेलमा उनले दुई गोल गरेका थिए।
प्रतिक्रिया