Pura Samachar

आज नेप्से परिसूचक १०.३७ अंकले बढेर २१८३.६२ बिन्दुमा

प्रकाशित: January 25, 2023
पूरा समाचार

आज नेप्से परिसूचक १०.३७ अंकले बढेर २१८३.६२ बिन्दुमा

काठमाडौं। नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको दोस्रो त्रैमासको लागि तयार गर्ने मौद्रिक नीतिप्रति लगानीकर्ताको ठूलो आश देखिएको ‍छ। लामो समयदेखि विवादमा रहेको ४/१२ को नीति संशोधन हुने अपेक्षा लगानीकर्ताले गरिरहँदा यसको प्रभाव सेयर बजारमा समेत परेको छ। बुधबार समग्र सेयर बजार सकारात्मक देखिएको छ। नयाँ सरकार पुँजी बजारप्रति सकारात्मक देखिएकाले उनीहरुले यसपटक यो नीति संशोधन हुने अपेक्षा गरेकाले बजार उत्साही देखिएको हो।

बुधबार कारोबार सुरु भएदेखिनै सकारात्मक भएको नेप्से परिसूचक अन्त्यमा दोहोरो अंकले बढेर बन्द भयो। नेप्से परिसूचक १०.३७ अंकले बढेर २१८३.६२ बिन्दु सम्म उक्लिएको हो। बुधबार समग्र बजार सकारात्मक देखिएपनि सेयर बजारमा प्रभावशाली मानिने वाणिज्य बैंक उपसमुह भने घटेको छ।

चालु आर्थिक वर्षको पुस मसान्त सम्मको वित्तीय विवरणको चहलपहल सेलाएसँगै यस उपसमुह रातो बनेको हो।

एक ब्रोकरले भने,”बजारमा वाणिज्य बैंकको सप्लाइ धेरै छ। एक दुई दिन यो उपसमुह बढ्नेवित्तिकै बिक्रेता बढी हाल्छन्। त्रैमासिक रिपोर्ट नि आइसक्यो, लाभांशको सिजन पनि सकियो भने अब यी बैंकहरुको नयाँ अहिलेलाई केही पनि आउने कुरा छैन। त्यसैले आज सेलिङ प्रेसर निकै बढ्यो।”

बुधबार वाणिज्य बैंक, फाइनान्स र अन्य उपसमूह घटेका छन्।  बाँकी सबै हरियो भएका छन्।

मंगलबारको तुलनामा कारोबार पनि सामान्य बढेको छ। बुधबार दिनभरको कारोबार अवधिमा ३ अर्ब ४६ करोड माथिको सेयर किनबेच भएको हो।

कारोबारका आधारमा बुधबार हाइड्रोपावर कम्पनीहरुमा लगानीकर्ताको आकर्षण बढेको छ। बुधबार नेशनल हाइड्रोपावरको १० करोड माथिको कारोबार भएको छ भने हिमाल दोलखा हाइड्रोपावरको ९ करोड माथिको सेयर किनबेच भएको हो।

प्रतिक्रिया