
काठमाडौं । अमेरिकी उपविदेशमन्त्री भिक्टोरिया नुल्यान्ड काठमाडौं आइपुगेकी छन् ।
वासिङ्टन डिसीबाट सिधै नेपाल आएकी उपमन्त्री नुल्यान्डले आफ्नो दुईदिने भ्रमणमा नेपालको नयाँ सरकारसँग अमेरिकी साझेदारीको बृहत एजेन्डामा छलफल गर्नेछिन् ।
उनले आज सोमबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड लगायत शीर्ष नेता भेट्ने कार्यक्रम छ । प्रचण्ड प्रधानमन्त्री भएपछि कुनै पनि उच्च तहको विदेशी नेतृत्वको यो पहिलो भ्रमण हो ।
अमेरिकी दूतावासका अनुसार नुल्यान्डले भोलि सोमबार नै एमाले अध्यक्ष केपी ओली र विपक्षी दल कांग्रेसका सभापति शेरबहादुर देउवालाई समेत भेट्नेछिन् । उनले परराष्ट्र मन्त्री विमला राई पौड्यालसँग पनि भेट्ने कार्यक्रम छ ।
काठमाडौंस्थित अमेरिकी दूतावासका अनुसार उपमन्त्री नुल्यान्डको भ्रमणमा द्विपक्षीय सम्बन्धलाई थप उजागर गर्न सरकारी अधिकारीहरूसँग भेटवार्ता हुनेछ । दूतावासले अमेरिकी सरकारले नेपालको ‘युनिक’ सांस्कृतिक सम्पदामा अमेरिकालाई गर्व महसुस भएको पनि उल्लेख गरेको छ । उपमन्त्री नुल्यान्डले पाटन दरबार स्क्वारको भ्रमण पनि गर्ने छिन् ।
दूतावासले भनेको छ, ‘यो नेपाल भ्रमणको क्रममा उहाँले सरकारका नेतृत्वकर्ताहरूसँग भेटघाट गरी हाम्रा दुई देशबीचको बलियो दौत्य सम्बन्धमाथि जोड दिनु हुनेछ । साथै उहाँले नेपालको अनुपम सांस्कृतिक सम्पदाको अनुभव पनि सँगाल्नुहुनेछ । यस्ता सांस्कृतिक सम्पदालाई सहयोग गर्न पाउँदा हामीलाई गर्व लाग्दै आएको छ ।’
३३ वर्षदेखि अमेरिकी कूटनीतिज्ञ रहेकी उपविदेशमन्त्री नुल्यान्डले अमेरिकाका राष्ट्रपति जो बाइडेन, पूर्व राष्ट्रपतिहरु बाराक ओबामा र जर्ज डब्ल्यु बुस नेतृत्वको सरकारमा महत्वपूर्ण जिम्मेवारीहरु निभाएकी छन् ।
प्रतिक्रिया