
काठमाडौं । सरकारको नेतृत्व गरिरहेको नेकपा माओवादी केन्द्रले राष्ट्रपति निर्वाचनमा सकेसम्म राष्ट्रिय सहमति गरेरै जानु पर्ने निष्कर्ष निकालेको छ । राष्ट्रिय सहमति नभएको अवस्थामा जोसँग विचार र लक्ष्य मिल्छ उसैसँग मिलेर जाने निर्णय गरेको छ ।
शनिवार सम्पन्न स्थायी समिती बैठकपछि पत्रकारसँग कुरा गर्दै माओवादी केन्द्रका सचिव देवेन्द्र पौडेलले राष्ट्रपतिको चुनावसम्म जाँदा सकेसम्म सहमतिको पक्षमा उभिने बताए । कांग्रेसले समेत सरकारलाई विश्वासको मत दिएकाले यो वा ऊ दल नभनी माओवादीले राष्ट्रिय सहमतिको पहल गर्ने निर्णय गरेको पौडेलको भनाइ छ ।
सहमति नभएमा विचार र कार्यदिशा मिल्ने दलहरूसँग मिलेर अघि बढ्ने निर्णय भएको उनले बताए । तर राष्ट्रिय सहमति नभएमा कुन कुन दलबीच विचार र कार्यदिशा मिल्ने हो भन्ने चाँही माओवादीले स्पष्ट पारेको छैन । अहिलेसम्म एमालेलाई बाहिर राखेर सहमतिको कुरा नगरिएको भन्दै पौडेलले सरकारलाई सहयोग गर्ने दलहरुबीच पनि छलफल हुने बताए ।
राष्ट्रपति एमालेले पाउने पूर्व सहमति भएपनि एमाले अध्यक्ष केपी शर्मा ओलीले दिने जुनसुकै नाममा सहमति गर्न नसकिने माओवादीको रणानीति छ । एमाले अध्यक्ष ओलीले आफ्ना विश्वास पात्रलाई अघि सार्न सक्ने भन्दै माओवादी झस्किएको छ । त्यसैले कांग्रेसले समेत आफूलाई विश्वासको मत दिएकाले राष्ट्रिय सहमति खोज्नु पर्ने माओवादीको भनाइ छ ।
प्रतिक्रिया