भोजपुर : लकडाउनको मौका छोपी जथाभावी म्याद गुज्रिएका दैनिक उपभोग्य सामान बेचिएरेको पाइएको छ । म्याद सकिएका अखाद्य र पुराना उपभोग्य बस्तु बेचिरहेको गुनासा बढेपछि स्थानीय प्रशासनले गरेको अनुगमनमा यस्तो पाइएको हो ।
लकडाउनको फाइदा उठाउँदै उपभोक्तालाई म्याद नाघेको र अखाद्य वस्तु बेचिरहेका थोक तथा खुद्रा पसलमा गरिएको अनुगमनका क्रममा अधिकांश पसलबाट अखाद्य बस्तु फेला परेको सहायक प्रमुख जिल्ला अधिकारी रामप्रसाद लुईटेलले बताए । ‘अनुगमनका क्रममा म्याद सकिएका फ्रुटी, जुस, विस्कुट, चाउचाउ, मसला जस्ता जंक फुड भेटियो’,उनले भने, ‘बरामद गरिएका सबै बस्तु नष्ट पनि गर्यौँ।’
सदरमुकामका दर्जन बढी पसलमा गरिएको अनुगमनले ३० हजार बराबरको अखाद्य वस्तु बरामद गरिएको थियो । बरामद गरिएका म्याद सकिएका र खान नमिल्ने ती उपभोग्य बस्तु नष्ट गरिएको र व्यावसायीलाई सचेत पनि गराइएको लुइँटेलले बताए ।
अनुगमनका क्रममा कतिपय पसलमा सामानको मूल्यसूची नै नराखी बेचबिखन हुने गरेको पनि पाइएको छ । ती पसलमा उपभोक्तालाई मार नपर्ने गरी न्यायोचित मूल्यसूची बनाउन पनि निर्देशन दिइएको सहायक प्रजिअ लुइँटेलले जानकारी गराए । साथै आगामी समयमा पनि उपभोक्ताको हितविपरीत अखाद्य म्याद नाघेका वस्तु बेचेको पाइए कानुन बमोजिम कारबाही गरिने भएको छ ।
बजारमा दैनिक उपभोग्य सामानको मूल्य बढिरहेकाले यसको नियमन गर्नु आवश्यक रहेको अशलशासन क्लबका प्रमुख फविन्द्र प्रधानले बताए । उपभोक्तालाई मार पर्ने गरी खाद्य सामानमा मनपरी मूल्य तोकिने गुनासा आउने गरेकाले तत्काल यसको नियमन हुनुपर्नेमा उनल जोड दिए । जिल्ला प्रशासन, जनप्रतिनिधि, उद्योग वाणिज्य संघ, नेपाल रेडक्रस सोसाइटी, युवा क्लब लगायतका सरोकारवाला निकायका प्रतिनिधिको सक्रियतामा सदरमुकामस्थित बिगमार्ट, कान्तिपुर किराना पसल, दुर्गा किराना पसल, सजना किराना पसल, विद्याद्यारी किराना पसल लगायत ९ मुख्य पसलमा अनुगमन गरिएको थियो ।
प्रतिक्रिया