
काठमाडौं।बंगलादेशमा जारी साफ यू-२० महिला च्याम्पियनसिप फुटबल अन्तर्गत राउण्ड रोबिन लिगको आफ्नो अन्तिम खेलमा नेपालले आज मंगलबार बलियो टोली भारतसँग प्रतिस्पर्धा गर्दैछ ।
ढाकास्थित विर श्रेष्ठ शहिद सिपाही मुस्तोफा कमल स्टेडियममा नेपालले भारतको सामना गर्नेछ । नेपाल र भारतबीचको खेल दिउँसो २:४५ बजे सुरु हुनेछ ।
नेपालका लागि यस खेल महत्वपूर्ण रहेको छ । नेपाललाई फाइनल पुग्नका लागि भारतविरुद्धको खेल जित्नैपर्ने दबाब रहेको छ।
नेपाल २ खेलमा ३ अंक जोडेर तेस्रो स्थानमा रहेको छ । नेपाल पहिलो खेलमा बंगलादेशसँग पराजित भएको थियो। दोस्रो खेलमा नेपालले भुटानलाई हराएको थियो ।
भारतसँग पराजित भएको खण्डमा नेपाल उपाधि होडबाट बाहिरिनेछ । बराबरी खेलेको खण्डमा बंगलादेश र भुटानबीचको अन्तिम खेल कुर्नुपर्ने हुन्छ ।
भारत ४ अंक जोडेर शीर्ष स्थानमा रहेको छ । भारत बराबरीको नतिजाले पनि फाइनल पुग्नेछ । पहिलो खेलमा भुटानलाई फराकिलो अन्तरले हराएको भारतले दोस्रो खेलमा बंगलादेशसँग गोलरहित बराबरी खेलेको थियो ।
राउण्ड रोबिनको अन्तिम खेलमा भुटान र बंगलादेश खेल्नेछन् । बंगलादेश ४ अंक जोडेर दोस्रो स्थानमा रहेको छ । भुटान दुई खेलमा अंक विहीन रहदै प्रतियोगिताको उपाधि होडबाट बाहिरिसकेको छ ।
प्रतियोगितामा नेपालसहित आयोजक बंगलादेश, भारत र भुटानको सहभागिता रहेको छ । राउण्ड रोबिनको आधारमा हुने प्रतियोगिताको शीर्ष दुई टोलीले उपाधिका लागि प्रतिस्पर्धा गर्ने छन् ।
यसैबीच छैटौं संस्करणको राष्ट्रिय महिला भलिबल प्रतियोगिताको फाइनल खेल आज मंगलबार हुँदैछ।त्रिपुरेश्वरस्थित राखेप कभर्डहलमा हुने फाइनलमा साविक विजेता एपीएफ र न्यु डायमण्ड स्पोर्ट्स क्लबबीच प्रतिस्पर्धा हुनेछ । फाइनल खेल दिउँसो २ बजे सुरु हुनेछ ।
एपीएफ उपाधि रक्षाको योजनासहित कोर्टमा उत्रिनेछ । न्यु डायमण्ड नयाँ च्याम्पियन बन्ने योजनामा हुनेछ । चार टोली सहभागी प्रतियोगितामा न्यु डायमण्ड अपराजित रहदै फाइनल पुगेको हो । सोमबार न्यु डायमण्डले लिग खेलमा एपीएफलाई ३-१ को सेटमा हराएको थियो ।
एपीएफ दोस्रो स्थानमा रहदै फाइनल पुगेको हो ।
प्रतियोगिताको तेस्रो स्थानका लागि नेपाल पुलिस क्लब र त्रिभुवन आर्मी क्लबबीच प्रतिस्पर्धा हुनेछ । तेस्रो स्थानको लागि हुने खेल बिहान ११ बजे सुरु हुनेछ ।
शेरबहादुर खड्का स्मृति प्रतिष्ठानको आयोजनामा जारी प्रतियोगिताका विजेताले ३ लाख रुपैयाँ पुरस्कार पाउने छन् । यस्तै उपविजेताले एक लाख ५० हजार र तेस्रो हुने टोलीले ७५ हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गर्ने छन् ।
प्रतियोगिताका सर्वोत्कृष्ट खेलाडीलाई नगद ५० हजारसँगै अन्य आकर्षक पुरस्कार प्रदान गरिने प्रतिष्ठानका अध्यक्ष रञ्जन खड्काले जानकारी दिए ।
यस्तै विधागततर्फका उत्कृष्ट हुनेलाई जनही १५ हजार र हरेक खेलको प्लेयर अफ दी म्याचलाई १० हजार रुपैयाँ नगद पुरस्कार प्रदान गरिने भएको छ । एक उदयमान खेलाडीलाई नगद १५ हजारसहित इमर्जिङ प्लेयर अवार्ड प्रदान गरिनेछ ।
प्रतिक्रिया