Pura Samachar

पिएसजी घरेलु टोली मोनाकोसँग ३–१ ले पराजित

प्रकाशित: February 12, 2023
पूरा समाचार

पिएसजी घरेलु टोली मोनाकोसँग ३–१ ले पराजित

एजेन्सी – स्टार फरवार्डद्धय केलियन एमबाप्पे र लियोनेल मेस्सी अनुपस्थित रहेको खेलमा शीर्षस्थानमा रहेको पेरिस सेन्ट जर्मेन (पिएसजी) ले फ्रेन्च लिग वानमा मोनाकोसँग हार बेहोरेको छ ।

लिग वानमा तेस्रो हार बेहोर्ने क्रममा पिएसजी घरेलु टोली मोनाकोसँग ३–१ ले पराजित भएको हो । घरेलु टोलीका विसाम विन एडरले दुई तथा एलेक्सन्डर गोलोभिनले एक गोल गरे । पिएसजीका वारिन जाइरे इम्रीले एक गोल फर्काए । सबै चार गोल पहिलो हाफमा भएको थियो ।

मोनाकोमा शनिबार राति भएको खेलको चौथो मिनेटमा नै एलेक्सन्डर गोलोभिनको गोलबाट पिएसजी खेलमा पछि परेको थियो । उनले विसाम विन एडरको पासमा गोल गर्न सफल भएको थियो ।

१८औं मिनेटमा विसाम विन एडरले गोल गर्दै मोनाकोको अग्रता दोब्बर पारे । उनले क्रिपिन डिएटाको पासमा गोल गर्न सफल भएका थिए । ३९औं मिनेटमा १६ वर्षीय सेन्टरब्याक वारिन जाइरे इम्रीले गोल गर्दै खेललाई २–१ को स्थितिमा ल्याए । यो सिजन ११औं खेलमा उनको यो दोस्रो गोल हो ।

पहिलो हाफको इन्ज्युरी समयको थप गरिएको दोस्रो मिनेटमा विसाम विन एडरले व्यक्तिगत दोस्रो तथा टोलीका लागि तेस्रो गोल गर्दै मोनाकोलाई खेलमा ३–१ ले अघि बढाए । खेलमा पछि परेको पिएसजी बल पोसेसन राख्दै मोनाकोमाथि दवाव बढाएपनि थप गोल गर्न नसक्दा पराजित हुन पुग्यो ।

यस हारपछि पिएसजीले शीर्षस्थानमा अंक दुरी बढाउने अवसर गुमाएको छ । पिएसजीको २३ खेलबाट ५४ अंक पुगेको छ । पिएसजीलाई हराएको मोनाकोको २३ खेलबाट ४७ अंक पुगेको छ ।

लिग वानकै अर्काे खेलमा क्लेरमन्ट फुटलाई २–० ले पराजित गर्दै मार्से दोस्रो स्थानमा रहेको छ । मार्सेको जितमा दुवै गोल एलेक्सिस सान्चेजले गोल गरे । यस जितसँगै मार्सेको २३ खेलबाट ४९ अंक पुगेको छ । पराजित क्लेरमन्ट फुट ३० अंक जोडेर ११औं स्थानमा छ ।

प्रतिक्रिया