Pura Samachar

म्यानचेस्टर युनाइटेडकाे रोमाञ्चक जित

प्रकाशित: February 13, 2023
पूरा समाचार

म्यानचेस्टर युनाइटेडकाे रोमाञ्चक जित

इंग्लिस प्रिमियर लिग फुटबलमा पछिल्लो समय सम्हालिँदै अघि बढेको म्यानचेस्टर युनाइटेडले २३औं साताको खेलमा रोमाञ्चक जित निकालेको छ । आज आइतबार राति भएको खेलका युनाइटेडले लिड्स युनाइटेडविरुद्ध उसकै घरेलु मैदानमा ०–२ को रोमाञ्चक जित निकाल्यो । खेलको ७९औं मिनेटसम्म १ गोल नभएको खेलमा पाहुना टोली युनाइटेडले ५ मिनेटको बीचमा रोमाञ्चक तरिकाले २ गोल गर्दै उत्कृष्ट नतिजा निकाल्न सफल भयो । युनाइटेडका लागि यो सिजनको १४औं जित हो ।

लिड्सले आफ्नो घरमा पाहुना टोली युनाइटेडविरुद्ध मजबुत खेल खेले पनि खेलको अन्तिम समयमा उसले आफ्नो पोस्ट बचाउन सकेन । तुलानात्मक रूपमा लिड्सले ज्यादा गोलका मुभ बनाएर सट प्रहार गरे पनि उसले युनाइटेडको रक्षापंक्ति तोड्न भने सकेन । गोलविहीनता भंग गर्दै युनाइटेडका लागि पहिलो गोल खेलको ८०औं मिनेटमा युवा खेलाडी मार्कुस रासफोर्डले हेडिङमार्फत् पहिलो गोल गरेका थिए । उनले लुक शको पासमा निकै उत्कृष्ट गोल गरेर युनाइटेडको जितको आधार तयार पारेका थिए । सो गोलपछि युनाइटेडले लगत्तै दोस्रो गोल समेत गर्न सफल भयो ।

यसपटक ८५औं मिनेटमा अर्जेन्टिनाका युवा स्टार अलेजान्द्रो गार्नाचोले वान भर्सेस वानमा बडा सुन्दर गोल गरेर युनाइटेडको जित पक्का गरे । मैदानको मध्य भागबाट पाएको बल उनले केही अघि बढाएर शक्तिशाली सट हानेका थिए । उनको कडा प्रहार पोलमा लाग्दै गोलमा परिणत भएको थियो । उनको गोलमा नयाँ खेलाडी वेघोर्स्टले निकै राम्रो असिस्ट प्रदान गरेका थिए । दोस्रो गोलपछि युनाइटेडले थप २ गोल गरे पनि दुवै गोललाई भिएआरले रद्द गरिदिएको थियो ।

अब यो जितपछि युनाइटेडले २३ खेलबाट ४६ अंक जोडेको छ । ताजा अवस्थामा ऊ तेस्रो स्थानबाट दोस्रो स्थानमा पनि चढेको छ भने २ खेल कम खेलेको म्यानचेस्टर सिटी दोस्रोबाट तेस्रो स्थानमा झरेको छ । तर, आजै राति सिटीले आफ्नो खेलमा एस्टोन भिल्लासँग बराबरी मात्रै खेले पनि युनाइटेड पुनः तेस्रोमा झर्नेछ र सिटी दोस्रो स्थानमै चढ्नेछ । सिटी र एस्टोन भिल्लाको खेल आजै राति १०ः१५ बजेबाट हुँदैछ ।

प्रतिक्रिया