Pura Samachar

नेपालले भारतसँग २-२ गोलको बराबरी खेल्यो

प्रकाशित: February 16, 2023
पूरा समाचार

नेपालले भारतसँग २-२ गोलको बराबरी खेल्यो

काठमाडौं । पहिलो अन्तराष्ट्रिय मैत्रीपूर्ण खेलमा नेपाली राष्ट्रिय महिला फुटबल टोली घरेलु टोली भारतसँग बराबरी खेलेको छ ।

चेन्नईमा बुधबार राति भएको खेलमा सावित्रा भण्डारीले दुई गोल गरेपछि नेपालले भारतसँग २-२ गोलको बराबरी खेलेको हो ।

जवाहरलाल नेहरू स्टेडियममा दुई गोलको अग्रता उल्टाएर नेपालले घरेलु टोलीसँग बराबरी खेलेको हो ।

खेलको चारै गोल दोस्रो हाफमा भएको थियो ।

खेलको ५६ औं मिनेटमा सौम्या गुगुलोथले गोल गर्दै भारतलाई सुरुआती अग्रता दिलाएकी थिइन्  ।

खेलको ६८ औं मिनेटमा इन्दुमथी काथिरेसनले गोल गर्दै भारतको अग्रता २-० को बनाईन् ।

 

तर, ९० औं मिनेटमा सावित्रा भण्डारीले पेनाल्टीबाट गोल गर्दै नेपाललाई २-१ को स्थितिमा ल्याईन् ।

भारतकी स्विटी देवीले पेनाल्टी बक्समा ह्यान्डबल गरेपछि नेपालले पेनाल्टीको अवसर पाएको थियो। जसमा सावित्राले सहजै गोल गरिन् ।

त्यसपछि खेलको इन्जुरी समयमा सावित्राले व्यक्तिगत दोस्रो गोल गर्दै २-२ गोलको बराबरीमा ल्याउदै नेपाललाई हारबाट जोगाईन् ।

काठमाडौंमा आयोजना भएको महिला साफ च्याम्पियनसिपपछि नेपाल र भारत पहिलो पटक मैत्रीपूर्ण खेल खेलेको हो ।

गत भदौमा दशरथ रंगशालामा भएको महिला साफको सेमिफाइनलमा नेपालले भारतलाई १-० ले हराएको थियो ।

ओलम्पिक छनोटको तयारी स्वरूप भारतले नेपाललाई दुई मैत्रीपूर्ण खेलका लागि बोलाएको हो ।

नेपाल र भारतबीचको दोस्रो मैत्रीपूर्ण खेल शनिबार हुनेछ ।

प्रतिक्रिया