Pura Samachar

राजर्षि जनक कप फुटबलकाे उपाधि मछिन्द्र एफसी क्लबले जित्यो

प्रकाशित: February 20, 2023
पूरा समाचार

राजर्षि जनक कप फुटबलकाे उपाधि मछिन्द्र एफसी क्लबले जित्यो

सर्लाही। सातौं संस्करणको राजर्षि जनक कप फुटबल प्रतियोगिताको उपाध मछिन्द्र एफसी क्लबले हात पारेको छ। बागमती नगरपालिका-११ स्थित सन्तोष श्रेष्ठ स्मृति रंगशालामा आइतबार भएको फाइनलमा जावलाखेल युथ क्लबलाई २–१ गोल अन्तरले पाखा लगाउँदै मछिन्द्रले उपाधि जितेको हो।

खेलको २९ औँ मिनेटमा जावलाखेलका खेलाडीले डि-बक्स एरियानजिकै फल गरेपछि पाएको पेनाल्टीमा विमल घर्ती मगरले गोल गरेपछि मछिन्द्रले पहिलो हाफमा अग्रता बनाएको थियो। खेलको ७८ औँ मिनेटमा सौरव लिम्बुको पासमा मछिन्द्रका लागि कप्तान सुजल श्रेष्ठले गोल गर्दै अग्रता दोब्बर बनाए।

मछिन्द्रका डिफेण्डर दिवाकर चौधरीको कमजोरीको फाइदा उठाउँदै खेलको ८२ औँ मिनेटमा विनोद केसीले गोल गरेपछि जावलाखेलले खेल २–१ को अवस्थामा ल्यायो। उपाधिसँगै मछिन्द्रले १० लाख रूपैयाँ नगद प्राप्त गरेको छ भने उपविजेता बनेको जावलाखेलले ५ लाख रूपैयाँमा चित्त बुझाएको छ।

खेलका क्रममा घाइते भएका मछिन्द्रका अभिषेक गुरुङलाई उपचारका लागि अस्पताल लगिएको छ। खेलको ६० औं मिनेटमा गोल हान्ने क्रममा जावलाखेलका खेलाडीसँग ठोक्किएपछि गुरुङ गम्भीर घाइते भएका थिए। प्राथमिक उपचारपछि उनलाई एम्बुलेन्सबाट अस्पताल लगिएको हो।

प्रतिक्रिया