Pura Samachar

मुलुकका अगाडि चुनौतीका चाङ

प्रकाशित: October 6, 2020

मुलुकका अगाडि चुनौतीका चाङ

पार्टीभित्रको विवादलाई लिएर विगत ६ महिनासम्म सत्तारूढ दल नेकपाका नेता एकआपसमा लडे । अहिले केही भागबन्डा मिलाएर शान्त छन् । यो कति दिन टिक्ने हो केही ठेगान छैन । देश र जनताको हितमा यी नेताहरू मिलेकै होइनन् । सत्ता स्वार्थका लागि मात्र मिलेका छन । देशमा भ्रष्टाचार बढेर गएको छ । गरिब र निमुखाप्रति अन्याय भएको छ । तर, त्यस विषयमा कोही नेता बोल्दैनन् । मिलेर खाएका छन् ।

यति बेला आमनेपाली जनताले समस्यैसमस्यामा दिन बिताइरहेका छन् । लामो समयसम्मको लक डाउन र त्यसले उत्पन्न गरेको समस्याले धेरैको चुल्हो बल्न सकेन । त्यसको प्रभाव अझैसम्म कायम छ । धेरैको रोजी रोटी खोसिएको अवस्था छ भने उद्योग, धन्दा, कलकारखाना, स्कुल, कलेज, होटललगायत क्षेत्रहरू लक डाउनका कारण बढी मात्रमा प्रभावित छन् । सहज परिस्थिति नबन्दासम्म यी क्षेत्रहरू चलायमान हुनसक्ने अवस्था देखिँदैन । कोरोना भाइरसको जोखिम बढ्दै गएको छ । यति लामो समय बित्दासमेत कोरोना नियन्त्रणमा आउन सकेको छैन । यो नियन्त्रण बाहिर गइसकेको अवस्था देखिन्छ ।

कोरोना कहरले सामुदायिक र निजी विद्यालयका करिब ७२ लाख विद्यार्थीको पढाइ प्रभावित भएको छ । स्कल, कलेज कहिले सुरु हुन्छ, केही पत्तो छैन । यो शैक्षिक वर्षको पढाइ नै त्यत्तिकै खेर जाने खतरा छ । सामुदायिक विद्यालयका शिक्षकले त तलब पाएका छन् तर निजी विद्यालयका शिक्षकले तलब पाउन सकेका छैनन् । तलब नपाउँदा उनीहरूको जीवन कष्टकर भएको छ ।  देशका अधिकांश उद्योग र पूर्वाधारका आयोजनाको काम ठप्प छ । सार्वजनिक यातायातमा काम गर्ने मजदुरको दैनिक जीवन कष्टकर भएको छ । बैंकसँग ऋण लिएर यातायात सञ्चालन गरेका यातायात व्यवसायीे व्याज तिर्न नसकेर तनावमा छन् ।

स्थानीय, प्रदेश र केन्द्रीय सरकार जनताको समस्या समाधान गर्ने विषयमा त्यति ध्यान दिएको देखिँदैन । खान नपाएर वृद्ध बाबुआमा र नाबालक केटोकटी मर्ने अवस्था छ । यतिबेला कोरोना तीव्र गतिमा बढेको छ । सत्तामा बसेका अन्धा मान्छेहरूले जनता रोएको र आँसु खसालेको देखेका छैनन् । किनभने सत्ता भनेको अन्धो हन्छ । तिनका लागि गरिबको कुनै चासो छैन । ती सत्ताको लुछाचुँडीमै व्यस्त छन् । उनीहरूलाई गरिबको व्यथा सुन्न समय नै छैन । कोरोनाका कारण निर्माण व्यवसाय बन्द छन् । काम नपाएर लाखौँ नेपाली बेरोजगार बनेका छन् ।

पार्टीभित्रको विवादलाई लिएर विगत ६ महिनासम्म सत्तारूढ दल नेकपाका नेता एकआपसमा लडे । अहिले केही भागबण्डा मिलाएर शान्त छन् । यो कति दिन टिक्ने हो केही ठेगान छैन । देश र जनताको हितमा यी नेताहरू मिलेकै होइनन् । सत्ता स्वार्थका लागि मात्र मिलेका छन् । देशमा भ्रष्टाचार बढेर गएको छ । गरिब र निमुखाप्रति अन्याय भएको छ । तर, त्यस विषयमा कोही नेता बोल्दैनन् । मिलेर खाएका छन् । जनताको करमा रमाएका छन् । भ्रष्टाचार गर्दासमेत कसैमाथि कारबाही भएन, छानबिन भएन । यो नै बिडम्वना हो । यो सरकार पाँच वर्षको कार्यकालका लागि गठन भएको हो । यो अवधिमा सरकारको आधाभन्दा बढी समय बितिसकेको छ । एकपछि अर्को भ्रष्टाचार हुँदासमेत मोटा भ्रष्टाचारीलाई कारबाही भएको छैन । यो सरकार गठन भएपछि ठूलाठूला भ्रष्टाचारका काण्ड भए । ललिता निवास जग्गाकाण्डमा सत्ताधारी दलका महासचिव र विशिष्ट व्यक्ति संलग्न भएको समाचार बाहिर आउँदा समेत त्यसमा कुनै कारबाही भएन ।

यसैगरी तत्कालीन सञ्चारमन्त्री गोकुल बाँस्कोटाले सेक्युरिटी प्रिन्टिङ प्रेस खरिद गर्न ७० करोड घुस मागेको प्रकरण भण्डाफोर भएपछि उनी मन्त्रीबाट हटे तर छानबिन भएन । प्रमुख प्रतिपक्ष नेपाली कांग्रेस सरकारको अत्याचार र अन्यायप्रति किन मौन छ ? मुलुकमा यत्रो अत्याचार भएको छ । खान नपाएर गरिब तनावमा छन् । गर्भवती महिला अस्पतालमा भर्ना हुन नपाएर मर्नुपरेको छ । स्कुल–कलेजमा पढाइ नहुँदा लाखौँ विद्यार्थीको भविष्य अन्धकार छ । कांग्रेसले प्रमुख प्रतिपक्ष दलको भूमिका निर्वाह गर्न सकेन । कांग्रेसले निर्णायक भूमिका खेल्न सकेको छैन । नेकपाले मनपरी गरेको छ । यस्तो अवस्थामा पनि संसदीय व्यवस्थामा आस्था र विश्वास राखेर ७० वर्षदेखि संघर्ष गरेको कांग्रेसको मौनता किन ? नागरिक पीडामा परेको यस्तो संकटका बेला प्रमुख प्रतिपक्षी कांग्रेसले संसद् बैठक माग गर्नुपथ्र्यो । अन्य देशमा कोरोना कहर चलिरहँदा संसद् बैठक चलिरहेका छन् । नेपालमा संसद् बैठक किन नचलेको ? वर्तमान कोभिड–१९ को महामारीले आमनागरिक त्रासमा छन् ।

यसको नियन्त्रणका लागि कसैको ध्यान गएको छैन । जतिसुकै मीठा भाषण गरे पनि त्यसको कार्यान्वयन भएन भने त्यसको के अर्थ ? जनताले नेताको भाषण पत्याउन छाडे । भाषण मात्र गरेर अब काम छैन । जनताका समस्या समाधान गर्ने बाटोतर्फ अघि बढ्न जरुरी छ । यो समय भनेको काम गरेर देखाउने समय हो । वर्तमान सरकारलाई काम गरेर देखाउन केले छेकेको छ ?  आम जनताको दुईतिहाइ बराबरको नेकपा सरकारले द्रुततर विकास सुरु गर्ने अपेक्षा थियो । रेल, पानीजहाज, सहरमा मोनोरेलका नारा अझै चर्चामा छ । जीविकाका लागि विदेश जानु नपर्ने, कोही भोकै बस्नु नपर्ने, उपचार नपाएर कोही मर्नु नपर्ने, झुपडीमा कोही बस्नु नपर्ने लगायतका गुलिया वचनको कार्यान्वयन खोई ? सरकारले सुशासन कायम गर्न सकेन । नेपाली जनताले यो सरकारबाट आशा गर्ने ठाउँ छैन । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसको प्रदर्शनले त जनतालाई पूरै निराश बनाएको छ ।

अहिले देशको आर्थिक अवस्था खराब छ । राष्ट्र बैंककै तथ्यांकअनुसार आर्थिक वृद्धि दुई प्रतिशतमा सीमित छ । बेरोजगारी बढेको छ । कृषि उत्पादन घटेको छ, औद्योगिक उत्पादन बढ्न सकेको छैन । सरकारसँग देश विकासको नीति र दूरदृष्टि छैन । सरकारले आर्थिक विकासको प्रयत्न नै गरेको देखिएन । हाम्रो अर्थतन्त्रका प्रमुख आधारमध्ये कृषि र पर्यटन पर्दछन । यी क्षेत्रमा लगानी बढाउने सरकारको सोच नै देखिँदैन ।
सरकारकै अदूरदर्शिताका कारण सवै क्षेत्र अस्तव्यस्त छ । सोलु कोरिडोर प्रसारण लाइन निर्माण नहँुदा निजी क्षेत्रको विद्युत् खेर जाने अवस्था छ । सडक निर्माणमा पनि कुनै उल्लेख्य काम भएको छैन । वर्षको केही सय किलोमिटर कालोपत्रे गर्ने परम्परा मात्र धानिएको छ । आर्थिक विकासका हरेक क्षेत्रमा सरकार असफल देखिन्छ ।

प्रजातन्त्रमा आलोचना, वादविवाद र छलफलको जरुरी छ । आलोचना सहन नसक्ने व्यक्ति वा सरकार प्रजातान्त्रिक हुन सक्दैनन् । आलोचना ग्रहण गर्नै नसक्ने, विरोधी विचार सुन्नै नचाहने, प्रशंसा मात्र खोज्ने तानाशाही प्रवृत्ति हो । वर्तमान सरकार गठन भएदेखि आलोचनालाई दबाउने, स्वतन्त्र नागरिक तथा पत्रकारहरूलाई आतंकित गराउनेतर्फ लाग्यो । कोरोना भाइरस परीक्षण गर्ने, स्वास्थ्यकर्मी सुरक्षित गर्न आवश्यक पर्ने सामग्री खरिदमा सरकारले नै कमाउधन्दा गर्न छाडेन । महँगो मूल्यमा गुणस्तरहीन सामग्री मगायो । जनताको जीवन सुरक्षाको मूल्यमा पनि भ्रष्टाचार गर्न छोडेन । आवश्यक पर्ने भेन्टिलेटर, आइसियु, आइसोलेसन बेडको कुनै तयारी नगरेकाले अहिले मानिस उपचार नपाई मृत्यु वरण गर्न बाध्य छन् । विदेशमा अलपत्र श्रमिकहरूलाई नेपाल ल्याउन सर्वोच्च अदालतले आदेश दिनुप¥यो । अझै पनि कैयौँ नेपाली विदेशमै अलपत्र छन् । जनताको मृत्यु तथा दुःखको कुनै संवेदना नभएको सरकारका कारण जनता निराश छन् । जनता निराश भए भने व्यवस्थामाथि नै समस्या आउँछ । यस विषयमा नेतृत्व वर्गले सोच्न जरुरी छ । नेपालको राजनीति सेवा भावले अघि बढ्न नसकेको अवस्था छ ।

राजनीतिलाई समाजसेवाकोे रूपमा हेराैं । राजनीतिलाई मागी खाने र ठगी खाने भाँडो नबनाऔँ । जबसम्म राजनीतिलाई समाज सेवाको रूपमा लगिँदैन तवसम्म देश र जनताको भविष्य बन्दैन । देशमा धेरै राजनीति परिवर्तन भए, तर जनताले परिवर्तनबाट केही लाभ लिन सकेनन् । यो नै समस्या हो । सरकार जनताको अभिभावक हो । जनतासमक्ष गरिएका प्रतिबद्धता एवं वाचा पूरा गर्न नसक्ने सरकारलाई जनताको सरकार भन्न सकिँदैन । वर्तमान ओली सरकारले थुप्रै काम गर्ने अवसरको सुविधा पाएर पनि केही गर्न सकेन । अधिकांश समय आपसी झगडा, सत्ता र कुर्सीको लडाइँमा बित्यो । समृद्धि र राष्ट्रवादको आवरणमा जनताको अभिमत बटुल्न सफल ओली सरकार सत्तामा पुग्ने बित्तिकै जनताका समस्या सबै बिर्सियो ।

आज मुलुकका अगाडि थुप्रै चुनौतीका चाङ छन् । विश्वव्यापी रूपमा फैलिएको कोभिड–१९ को कारण जनता आक्रान्त छन । कोरोनाको माहामारीले सबै नागरिकलाई भयभित र त्रसित बनाएको छ । प्राकृतिक प्रकोपको कारण पहिरो र बाढीबाट ठूलो धनजनको क्षति भएको छ । नागरिक रोग र भोगबाट त्रसित हुँदासमेत सरकार मौन छ ।

(साभर -सौर्य दैनिक)

प्रतिक्रिया