
काठमाडौं । फरवार्ड विमल घर्तीमगरको निर्णायक गोलसँगै मछिन्द्र फुटबल क्लब केपी ओली कप राष्ट्रिय फुटबल च्याम्पियनसिपको फाइनलमा प्रवेश गरेको छ ।मछिन्द्रले आयोजक केपी एफसीलाई १–० ले पराजित गर्दै उपाधि नजिक पुगेको हो । सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको खेल मैदानमा सोमबार भएको दोस्रो सेमिफाइनलमा विमलले पहिलो हाफमा गरेको गोल नै निर्णायक बन्यो ।
उनले १९औं मिनेटमा गोल गर्न सफल भएका थिए । रजिन धिमालको लामो पासलाई विमलले पेनाल्टी बक्समा नियन्त्रणमा सहजै फिनिस गर्न सफल भएका थिए ।
प्रतिस्पर्धात्मक बनेको खेलमा दुवै टोलीले त्यसपछि केही अवसर पाएपनि सदुपयोग गर्न सकेनन् । अन्तत विमलको गोल नै निर्णायक बन्यो । मछिन्द्रका आन्द्रेस निया प्लेयर अफ दि म्याच घोषित भए । उनले १५ हजार रुपैयाँसँग ट्रफी हात पारे ।
अब मछिन्द्रले उपाधिका लागि बुधबार सातदोबाटो युथ क्लबसँग खेल्नेछ । फाइनल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा साँझ ५ बजेपछि हुनेछ । सातदोबाटोले सोमबार विभागीय त्रिभुवन आर्मी फुटबल क्लबलाई सडन डेथमा ६–५ ले पराजित गर्दै फाइनलमा पुगिसकेको छ ।
राष्ट्रिय युवा संघ नेपालले आयोजना गरेको प्रतियोगितामा आठ टोलीको सहभागिता रहेको छ । प्रतियोगिताको विजेताले उपाधिसहित १० लाख नगद तथा उपविजेताले ५ लाख नगद प्राप्त गर्ने आयोजकले जनाएको छ ।
प्रतियोगिताका सर्बोत्कृष्ट खेलाडीले १ लाख नगद पाउने छन् । त्यसैगरी उत्कृष्ट गोलरक्षक, उत्कृष्ट गोलकर्ता र उदियमान खेलाडीले ५० हजार पाउने छन् ।
प्रतिक्रिया