Pura Samachar

नेपालले आज नर्दन मारियाना आइल्याण्डसँग प्रतिस्पर्धा गर्दै

प्रकाशित: March 12, 2023
पूरा समाचार

नेपालले आज नर्दन मारियाना आइल्याण्डसँग प्रतिस्पर्धा गर्दै

काठमाडौं ।

एएफसी यू-२० महिला एसियन कप छनोटको दोस्रो खेलमा नेपालले आज नर्दन मारियाना आइल्याण्डसँग प्रतिस्पर्धा गर्दैछ ।

फैजल अल हुसेनी अन्तराष्ट्रिय रंगशालामा नेपालले नर्दन मारियानाको सामना गर्नेछ । नेपाल र नर्दन मारियानाबीचको खेल नेपाली समय अनुसार साँझ ६:४५ बजे सुरु हुनेछ ।

नेपाल आज नर्दन मारियानालाई हराउँदै छनोटको दोस्रो चरणमा पुग्न चाहन्छ । छनोटमा नेपाल लगातार दोस्रो जित समेत निकाल्न चाहन्छ ।आजको खेलको लाईभ भने आउने छैन।नेपालमा विभिन्न पेजहरुले गोलको अपडेट दिने छन्।

समूह ‘बी’ मा रहेको नेपाल १ खेलमा ३ अंक जोडेर शीर्ष स्थानमा रहेको छ । नेपालले पहिलो खेलमा प्यालेस्टाइनलाई ६-० गोल अन्तरले हराएको थियो ।

नर्दन मारियाना पहिलो जितको खोजीमा रहेको छ । नर्दनलाई पहिलो खेलमा प्यालेस्टाइनले ३-१ ले हराएको थियो ।यस समूहबाट समूह विजेताले दोस्रो चरणमा स्थान बनाउने छन् ।

दोस्रो चरण जुन ३ देखि ११ सम्म हुनेछ । जसबाट उत्कृष्ट ४ टोलीले उज्वेकिस्तानमा हुने यू-२० महिला एसियन कप खेल्नेछ ।

उज्वेकिस्तानमा हुने यू-२० महिला एसियन कप २०२४ को मार्च ३ देखि १६ सम्म हुनेछ । यू-२० महिला एसियन कपमा १६ टोलीले प्रतिस्पर्धा गर्ने छन् ।

यता जर्मन बुन्डेसलिगा फुटबलमा बायर्न म्युनिखले सहज जित निकालेको छ ।शनिबार राति भएको खेलमा बायर्नले अग्स्वर्गलाई ५-३ गोल अन्तरले हराएको हो ।

खेलमा सुरुआती अग्रता भने अग्स्वर्गले बनाएको थियो ।खेलको दोस्रो मिनेटमा मेर्जिम बेरीशाले गोल गर्दै अग्स्वर्गलाई अग्रता दिलाएका थिए ।

तर, खेलको १५ औं मिनेटमा जोआ कान्सेलोले गोल गर्दै बायर्नलाई १-१ गोलको बराबरीमा ल्याए ।१९ औं मिनेटमा बेन्जामिन पाभार्डले गोल गर्दै बायर्नलाई २-१ गोलको अग्रता दिलाए ।

खेलको ३५ औं मिनेटमा पाभार्डले व्यक्तिगत दोस्रो गोल गर्दै बायर्नलाई ३-१ को अग्रता दिलाए ।खेलको ४५ औं मिनेटमा लोरी सानेले गोल गर्दा बायर्न ४-१ ले अघि रह्यो ।

६० औं मिनेटमा मेर्जिमले व्यक्तिगत दोस्रो गोल गर्दै अग्स्वर्गलाई ४-२ को स्थितिमा ल्याए ।खेलको ७४ औं मिनेटमा अल्फन्सो डाभिसले गोल गर्दै बायर्नलाई ५-२ को अग्रता दिलाए ।

त्यसपछि खेलको इन्जुरी समयमा अग्स्वर्गका इर्भिन कार्डोनाले गोल गरेपनि बायर्न ५-३ ले विजयी भयो ।जितसँगै बायर्नले २४ खेलमा ५२ अंक जोडेको छ ।बायर्न शीर्ष स्थानमा रहेको छ ।अग्स्वर्ग २७ अंक जोडेर १३ औं स्थानमा रहेको छ ।

प्रतिक्रिया