Pura Samachar

मनाङ–मर्स्याङ्दी क्लब र मछिन्द्र फुटबल क्लबले अंक बाँडे

प्रकाशित: March 12, 2023
पूरा समाचार

मनाङ–मर्स्याङ्दी क्लब र मछिन्द्र फुटबल क्लबले अंक बाँडे

काठमाडौं। मनाङ–मर्स्याङ्दी क्लब र मछिन्द्र फुटबल क्लबले सहदि स्मारक ‘ए’ डिभिजन लिगमा बराबरी खेल्दै अंक बाँडेका छन् । मनाङ र मछिन्द्रले गोलरहित बराबरी खेल्दै अंक बाँडेका हुन् ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको खेल मैदानमा आइतबार भएको खेलको दोस्रो मिनेटमा विमल घर्तीमगरको पासमा पुजन उपरकोटीको पेनाल्टी बक्स बाहिरको सशक्त प्रहारलाई मनाङका गोलरक्षक तथा कप्तान दीप कार्कीले पञ्च गर्दै बचाए ।

सातौं मिनेटमा उत्सव राईको कमजोर क्लियरेन्सलाई विसन गुरुङले नियन्त्रणमा लिदै गरेको प्रहारलाई मछिन्द्रका गोलरक्षक विशाल श्रेष्ठले नियन्त्रणमा लिए । ३२औं मिनेटमा देवेन्द्र तामाङको करिव ३५ यार्ड टाढको फ्रिकिकालाई मनाङका गोलक्षक दीप कार्कीले सहजै नियन्त्रणमा लिए ।

३८औं मिनेटमा रन्जित धिमालको फ्रिकिकमा विमल घर्तीमगरको हडेर पोस्ट नजिकैबाट बाहिरिदा मछिन्द्र अग्रता लिनबाट चुक्यो । ४१औं मिनेटमा कप्तान रन्जितकै कर्नरमा विमलको हेडर सदुपयोग हुन सकेन ।

७३औं मिनेटमा छिरिङ गुरुङको क्रसमा विजय भुजेलको हेडरमा विमल घर्तीमगरले गरेको प्रहार बाहिरियो । ८१औं मिनेटमा सौरभ लिम्बुको प्रहार बाहिरियो । ९०औं मिनेटमा ओमोलाजा करिमको प्रहार पोस्टमा लागेर फर्किदा मछिन्द्र जितबाट वञ्चित बन्यो ।

यस बराबरीसँगै यसअघिको लगातार दुई पटकको च्याम्पियन मछिन्द्रले यो सिजनमा पहिलो अंक बटुलेको छ । मछिन्द्रले ३ खेलबाट १ अंक जोडेको छ । मछिन्द्र पहिलो खेलमा जावलाखेलसँग ३–१ ले तथा आर्मीसँग २–० ले पराजित भएको थियो । अपराजित मनाङको ३ खेलबाट ५ अंक पुगेको छ ।

प्रतिक्रिया