Pura Samachar

त्रिभुवन आर्मी फुटबल क्लब र न्यूरोड टिम (एनआरटी) सहिद स्मारक ‘ए’ डिभिजन लिगमा रोमाञ्चक बराबरी

प्रकाशित: March 12, 2023
पूरा समाचार

त्रिभुवन आर्मी फुटबल क्लब र न्यूरोड टिम (एनआरटी)  सहिद स्मारक ‘ए’ डिभिजन लिगमा रोमाञ्चक बराबरी

काठमाडौं । विभागीय त्रिभुवन आर्मी फुटबल क्लब न्यूरोड टिम (एनआरटी) ले सहिद स्मारक ‘ए’ डिभिजन लिगमा रोमाञ्चक बराबरी खेल्दै अंकका बाँडेका छन् ।आर्मी र एनआरटीले ३–३ गोलको रोमाञ्चक बराबरी खेल्दै अंक बाँडेका हुन् । ललितपुरको च्यासलस्थित च्यासल रंगशालामा आइतबार भएको खेलमा आर्मीका लागि नवयुग श्रेष्ठ, सुदिल राई र दिनेश हेन्जनले गोल गरे । एनआरटीका लालनुन्जामाले दुई तथा जिन एनिस एमबोउमीले गोल गरे ।

एक समय आर्मीले १–० को अग्रता लिएपनि दोस्रो हाफमा ३–१ ले पछि परेको थियो । तर, त्यसपछि आर्मीले पूनरागमन गर्दै १ अंक खोस्दै लिगमा अपराजित रहन सफल भयो । एनआरटीले भने पछि परेर अग्रता लिनुका बावजुत त्यसलाई जोगाउन नसक्दा लिगमा जित निकाल्न सकेन ।

खेलको १५औं मिनेटमा नवयुग श्रेष्ठले पेनाल्टीमा गोल गर्दै आर्मीलाई १–० को अग्रता दिलाए । ५२औं मिनेटमा गोलरक्षक विकेश कुथुको फितलो किपिङमा लालनुन्जामाले गोल गर्दे खेललाई १–१ गोलको बराबरीमा ल्याए । गोललाइनमा युद्ध शाहीले बचाउने प्रयास गरेपनि सफल हुन सकेन ।

५६औं मिनेटमा जिन एनिस एमबोउमीलेले पेनाल्टीमा गोल गर्दै एनआरटीलाई १–० को अग्रता दिलाए । विकास खवासले पेनाल्टी बक्समा कृशित रत्न छुन्जुलाई लडाएपछि एनआरटीले पेनाल्टी पाएको थियो ।

६१औं मिनेटमा लालनुन्जामा व्यक्तिगत दोस्रो तथा टोलीका लागि तेस्रो गोल गरेपछि एनआरटी खेलमा ३–१ ले अघि बढ्यो । ६७औं मिनेटमा सुदिल राईले गोल गर्दै खेललाई ३–२ को स्थितिमा ल्याउदै आर्मीलाई खेलमा फर्काउने संकेत दिए । ८५औं मिनेटमा दिनेश हेन्जने फ्रिकिकमा सिधै गोल गर्दै खेललाई ३–३ गोलको बराबरीमा ल्याए ।

यस बराबरीसँगै अपराजित रहेको आर्मीको ३ खेलबाट ५ अंक पुगेको छ । पहिलो अंक बटुलेको एनआरटीको ३ खेलबाट १ अंक छ ।

प्रतिक्रिया