एजेन्सी – इंग्लिस प्रिमियर लिगको शीर्षस्थानमा रहेको आर्सनल युरोपा लिगको प्रि–क्वाटरफाइनलबाटै बाहिरिएको छ ।
पोर्चुगिज क्लब स्पोर्टिङ लिस्वनसँग टाइब्रेकरमा ५–३ ले पराजित हुँदै आर्सनल अन्तिम १६ बाटै बाहिरिएको हो ।
इमिरेट्स स्टेडियम लन्डनमा बिहीबार राति भएको दोस्रो लेगमा १–१ गोलको बराबरी तथा समग्रमा ३–३ गोलको बराबरीपछि खेल टाइब्रेकरमा पुगेको थियो । जसमा स्पोर्टिङले बाजी मारेको हो । पहिलो लेग २–२ गोलको बराबरीमा सकिएको थियो ।
टाइब्रेकरमा स्पोर्टिङका जेरी सेन्ट जस्ट, रिकार्डाे स्काइओ, गोन्कालो इनासियो, आर्थर र नुनो सान्तोषले गोल गरे । आर्सनलका मार्टिन ओडेगार्ड, बुकायो साका र लियान्द्रो ट्रोससार्डले गोल गर्दा गाब्रिएल मार्टिनेलीले गोल गर्न सकेनन् ।
त्यसअघि खेलको १९औं मिनेटमा ग्रानिट झाँकाको गोलबाट आर्सनलले सुरुवाती अग्रता लिएको थियो । उनले गाब्रिएल मार्टिनेलीको पासमा गोल गर्न सफल भएका थिए ।
६२औं मिनेटमा पेड्रो गोन्कालभेसले गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याए । त्यसपछि निर्धारित समयमा गोल निस्कन नसक्दा खेल अतिरिक्त समयमा लम्बिएको थियो । ११८औं मिनेटमा स्पोर्टिङ १० खेलाडीमा समेटिन पुग्यो । म्यानुएल युगार्टे दोहोरो पहेलो कार्ड खाँदै मैदानबाट बाहिरिए ।
प्रतिक्रिया