
काठमाडौं । विश्वकप क्रिकेटको क्वालिफायरमा छनोट भएका नेपाली खेलाडीहरूलाई सरकारले जनही तीन लाख राशिको पुरस्कार दिने भएको छ ।
शुक्रबार बिहान विजेता खेलाडीहरूलाई सरकारी निवास बालुवाटारमा सम्मान गर्दै प्रधानमन्त्री पुष्पकमल दाहालले सो पुरस्कारको घोषणा गरेका हुन् । खेलाडीहरूलाई सम्मान गर्दै प्रधानमन्त्री दाहालले भने, “मलाई अत्यन्त खुसी लागेको छ । हिजो तपाईहरूले जसरी प्रदर्शन गर्नुभयो, त्यसबाट तपाईहरूले मात्र जित्नुभएको छैन, देशले जितेको छ । देशको स्वाभिमान उच्च भएको छ, राष्ट्रको गौरव बढेको छ ।”
प्रधानमन्त्री दाहालले आगामी दिनमा नेपाली क्रिकेट खेलाडीहरूको प्रर्दशन थप राम्रो होस् भन्दै अग्रिम शुभकामना पनि व्यक्त गरे । आफू क्रिकेट खेलाडीहरूको सुखदुखमा साथमै रहने प्रतिबद्धता जनाउँदै दाहालले विश्वकप छनोटका लागि खेलाडिहरूलाई शुभकामना दिए । उनले अगाडि भने, ‘यसअघि पनि सरकारले तपाईहरूलाई जनही दुई लाख राशिले पुरस्कृत गरिसकेको छ । आज म तपाईहरूलाई जनही रू. तीन लाख पुरस्कार प्रदान गर्ने घोषणा गर्दछु ।’
उनले कीर्तिपुरस्थित क्रिकेट मैदानमा तत्काल आधुनिक फ्लटलाइट र स्कोर बोर्ड जडान गर्न राष्ट्रिय खेलकुद परिषदलाई निर्देशितसमेत गरे । त्यस्तै मूलपानी, चितवनलगायत देशका विभिन्न स्थानमा निर्माणाधीन क्रिकेट रंगशाला निर्माण कार्य तीव्रताका साथ अगाडि बढाउनसमेत नेपाल सरकारको तर्फबाट आवश्यक प्रबन्ध गर्ने दाहालको प्रतिबद्धता छ ।
प्रतिक्रिया