बुटवल — मोफसलको चर्चित तिलोत्तमा गोल्डकपको २२ औं संस्करण आज शनिबारदेखि बुटवलमा सुरु हुँदैछ । एन्फा एकेडेमीको खेलमैदान देवीनगरमा दिउँसो २ बजेदेखि प्रतियोगिता सुरु हुनेछ ।
प्रतियोगिताको उद्घाटन खेलमा रुपन्देही ११ र सुदूरपश्चिम ११ बीच प्रतिस्पर्धा हुने आयोजक रुपन्देही जिल्ला फुटबल संघले जनाएको छ ।
प्रतियोगिताका लागि सबै तयारी सकिएको छ भने खेलमैदान सिँगारेर चिरिच्याट्ट पारिएको छ । दर्शकलाई खेल हेर्न एन्फा एकेडेमीमा स्थायी स्टेडियमसँगै अस्थायी संरचना तयार गरिएको छ । प्रतियोगितामा दुई विभागीयसहित ८ वटा ए लेभलका टिमले भाग लिएका छन् । ती नेपाल पुलिस, एपीएफ, मनाङ मर्स्याङदी, रुपन्देही ११, थ्री स्टार, हिमालयन शेर्पा, फ्रेन्ड्स क्लब र सुदूरपश्चिम ११ हुन् ।
रुपन्देही जिल्ला फुटबल संघका अध्यक्ष लोक पुनका अनुसार खेलमा विजेताले ११ लाख ११ हजार १ सय ११ रुपैयाँ पाउने छ । उपविजेताले ५ लाख ५५ हजार ५ सय ५५ रुपैयाँ पुरस्कार पाउने छन् । सर्वोत्कृष्ट खेलाडीले एक लाख रुपैयाँ वा एक थान मोटरसाइकल पुरस्कार दिइने छ । उत्कृष्ट फरवार्ड, गोलरक्षक, मिड फिल्डर, डिफेन्स र कोच गरी ५ वटा विधामा उत्कृष्ट खेलाडीले ३० हजारका दरले नगद पुरस्कार दिइने छ । प्रत्येक खेलको म्यान अफ द म्याच छानी ११ हजार १ सय ११ रुपैयाँ दिइने छ ।
प्रतिक्रिया