Pura Samachar

त्रिभूवन आर्मी क्लबलाई ‘सडनडेथ’ मा हराउँदै जवलाखेल युथ क्लब सेमिफाइनलमा प्रवेश

प्रकाशित: March 25, 2023
पूरा समाचार

त्रिभूवन आर्मी क्लबलाई ‘सडनडेथ’ मा हराउँदै जवलाखेल युथ क्लब सेमिफाइनलमा प्रवेश

सुन्दरहरैँचा । सातौँ संस्करणको विराट गोल्डकपमा विभागीय टीम त्रिभूवन आर्मी क्लबलाई ‘सडनडेथ’ मा हराउँदै जवलाखेल युथ क्लब सेमिफाइनलमा प्रवेश गरेको छ ।

विराटनगरस्थित शहीद रङ्गशालामा शुक्रवार भएको दोस्रो क्वाटरफाइनल खेलमा आर्मीलाई ‘सडेनडेथ’ मा ६-५ गोलले पन्छाउँदै जाउलाखेल अन्तिम चारमा स्थान सुरक्षित गर्न सफल भएको हो ।

निर्धारित ९० मिनेट र थप गरिएको ३० मिनेटको अतिरिक्त समयमा पनि दुवै टीमबाट गोलरहित खेल बराबरी भएपछि जीतको छिनोफानो ‘सडनडेथ’बाट भएको थियो । रोमाञ्चक तथा प्रतिस्पर्धात्मक टाइब्रेकरमा दुवै टोलीले ५-५ गोल गरेका थिए ।

सडनडेथमा जाउलाखेलको तर्फबाट सिमान्त थापा, विदेशी खेलाडी फोडे फोफोना, जाहुल, छिरिङ, समिराज थोकर र बिसाल तामाङले गोल गरेका थिए ।  आर्मीको तर्फबाट टङ्क बस्नेत, टेकबहादुर बुढाथोकी, कप्तान जिलेस्पीजङ्ग कार्की, सन्तोष केसी र गोलकिपर बिकेस कुथुले गोल गरेका थिए ।

सेसेहाङ आङ्देम्बेको प्रहार बाहिरिँदा दोस्रो खेलबाट आर्मी बिदा भएर घर फर्किन बाध्य भयो । जीतसँगै जाउलाखेलले घरेलु टीम विराटनगर सिटीसँग चैत १३ गते पहिलो सेमिफाइनल खेल खेल्ने छ ।

आर्मी र जाउलाखेलले केही उत्कृष्ट अवसर सिर्जना गरे पनि गोलमा परिणत हुन नसक्दा निर्धारित र अतिरिक्त समयसम्म दुवै टीमको गोलरहित खेल बराबरी भयो । आर्मीले गोलका उत्कृष्ट अवसरलाई सदुपयोग गर्न नसक्दा पहिलो खेलबाटै आफ्नो प्रतिस्पर्धा बिट मार्न पुग्यो ।

खेलको म्यान अफ द म्याच जाउलाखेलका सिमान्त थापा घोषित भए । उनले रु ११ हजार प्राप्त गरे । चैत १६ गतेसम्म सञ्चालन हुने गोल्डकपमा नेपाल, भारत र भूटानका गरी आठ टीमको सहभागिता रहेको छ ।

प्रतियोगिताको विजेता हुने टीमले २० लाख १५ हजार तथा उपविजेताले रु १० लाख २५ हजार पुरस्कार पाउने विराटनगर महानगरपालिकाका प्रमुख तथा गोल्डकपका संयोजक नागेश कोइरालाले उल्लेख गरे।

शनिवारको तेस्रो क्वाटरफाइनल खेल साविक विजेता सशस्त्र प्रहरी बल र पाहुना टोली भूटानको ड्रक लयुल फूटबल क्लबबीच हुने प्रतियोगिताका सह-संयोजक सुवाशिष कोइरालाले जानकारी दिए।

प्रतिक्रिया