
काठमाडौं ।
अमेरिकाले आइसिसी विश्वकप छनोट प्लेअफ प्रतियोगितामा विजयी सुरुवात गरेको छ । आइतबार भएको खेलमा घरेलु टोली नामिबियालाई ८० रनले हराउँदै प्रतियोगितामा अमेरिकाले विजयी सुरुवात गरेको हो । नामिबियाले भने पहिलो खेलमा घरेलु मैदानको फाइदा उठाउन सकेन ।
अमेरिकाले दिएको २ सय ३२ रनको लक्ष्य पछ्याएको नामिबिया ४१.४ ओभरमा १ सय ५१ रनमै अलआउट भयो । उसका लागि शान फौचेले ५५, जन निकोल लोफ्टी–इटनले ३८, कप्तान गेर्हार्ड इरास्मसले २२ र पिक्की या फ्रान्सले अविजित १४ रन बनाए । अमेरिकाका लागि निसर्ग पटेल र अलि खानले सर्वाधिक तीन/तीन विकेट लिए ।
त्यसअघि विन्डहोक मैदानमा टस हारेर पहिले ब्याटिङको मौका पाएको अमेरिकाले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर २ सय ३१ रन बनायो । उसका लागि गजानन्द सिंहले अर्धशतकीय पारी खेले । ६३ बलको सामना गरेका उनले पाँच चौका र एक छक्कासहित ५३ रन बनाए । त्यस्तै, नोस्तुश केन्जिगेले ४३, आरोन जोन्सले ३६, जेसी सिंहले ३३, सुशान्त मोदानीले १७ र सौरभ नेत्रावलकरले अविजित १० रन जोडे र बाँकी ब्याटरले भने दोहोरो अंकमा समेत रन बनाउन सकेनन् ।
नामिबियाका लागि शान फौचे र बेन शिकोन्गोले तीन/तीन, रुबेन ट्रम्पलम्यानले दुई र पिक्की या फ्रान्सले एक विकेट लिए । प्रतियोगितामा ६ टोलीले प्रतिस्पर्धा गरिरहेका छन् । प्लेअफमा आइसिसी विश्वकप लिग–२ को पुछारका चार टोलीसँगै आइसिसी विश्वकप च्यालेन्ज लिग ‘ए’ र ‘बी’ विजेता टोलीको सहभागीता छ ।
लिग–२ मा नामिबिया चौथो, अमेरिका पाँचौं, यूएई छैटौं र पपुवा न्यूगिनी (पिएनजी) पुछारमा रहँदै प्लेअफमा रहेका छन् । प्लेअफमा च्यालेन्ज लिग ‘ए’ र ‘बी’ का विजेता जर्सी र क्यानडा पनि रहेका छन् । प्रतियोगिताको शीर्ष दुई टोलीले जिम्बाब्वेमा हुने विश्वकप छनोट खेल्न पाउनेछन् । विश्वकप छनोट खेलका लागि नेपाल भने लिग–२ को शीर्ष तीनमा रहेर सोझै छनोट भइसकेको छ ।
प्रतिक्रिया