Pura Samachar

नेपालले भुटानसँग खेल १–१ को बराबरीमा

प्रकाशित: March 29, 2023
पूरा समाचार

नेपालले भुटानसँग  खेल १–१ को बराबरीमा

काठमाडौँ — नेपाली राष्ट्रिय टिमले २४ वर्षअघि दशरथ रंगशालामा भएको दक्षिण एसियाली महासंघीय खेलकुद (साफ खेलकुद १९९९) मा भुटानलाई ७–० ले हराएको थियो । नेपाली पुरुष टिमले अन्तर्राष्ट्रिय फुटबलमा हात पारेको सबैभन्दा फराकिलो जित त्यही हो ।

पछिल्लोपल्ट पाँच वर्षअघि ढाकामा भएको साफ च्याम्पियनसिप (सन् २०१८) को भेटमा पनि नेपालले ४–० को जित पाएको थियो । त्यसैले उत्कृष्ट लयमा नरहेको भए पनि नेपालले प्रधानमन्त्री त्रिदेशीय कपमा मंगलबार भुटानमाथि शतप्रतिशत जित कायमै राख्ने अपेक्षा गरिएको थियो ।

तर, ६ हजार ६ सय ४० दर्शकसामु घरेलु टिम दक्षिण एसियाली फुटबलमा सबैभन्दा कमजोर मानिएको भटानमाथि लगातार १३ औं जित हात पार्न चुक्यो । नतिजामात्रै होइन, प्रदर्शन पनि कुनै पनि हालतमा प्रशंसा गर्न लायक भएन । बल नियन्त्रणमा भुटानी टिम हाबी रह्यो । ४० महिनापछि मैदानमा फर्किएको भुटानी टिमका खेलाडीहरूले नेपालका सेन्टर–ब्याकमा झरेका ‘भर्सटायल फुटबलर’ रोहित चन्द, लेफ्ट–ब्याकमा उत्रिएका विकास खवास र नयाँ राइट–ब्याक सनिश श्रेष्ठलाई सजिलै पन्छाइरहे । विशेषगरी एक घन्टासम्म नेपाल कुनै पनि पोजिसनमा राम्रो देखिएन । डिफेन्स, मिडफिल्डदेखि अग्रपंक्तिसम्मै संघर्षरत रह्यो । पाहुना टिमले बल खेलाउँदा घरेलु टिमले पछ्याइरह्यो ।

सब्स्टिच्युट स्ट्राइकर दीपकराज सिंह ठकुरीले इन्ज्युरी समयमा गोल गरेपछि मात्रै नेपालले खेल १–१ को बराबरी टुंग्याउँदै भुटानसँग पहिलो हार टार्‍यो । यस नतिजाले भुटानसँग ३९ वर्षको प्रतिद्वन्द्वितामा नेपालको जित शृंखलाले भने १२ खेलमा विश्राम लियो । नेपालमै आएर पहिलोपल्ट हार टारेको भुटान भने प्रतियोगिताको समूह चरणबाटै बाहिरिए पनि शिर उँचो गरेर स्वदेश फर्किने भएको छ । भुटानका प्रशिक्षक पेमा दोर्जीले भने, ‘हामीले पहिला नेपालसँग सबै खेल हारेका थियौं । पहिलोपल्ट बराबरी गरेका छौं । इतिहास बनाएका छौं । जितिराखेको गेम अन्तिममा गोल खाएर जित्न नसक्दा दुःख त लाग्छ नै । फाइनल पुग्न सकेनौं । अब अर्कोपल्ट बलियो बनेर आउने छौं । इतिहास बनाएकाले हामी शिर उँचो बनाएर फर्कने छौं ।’

प्रतिक्रिया