
काठमाडौ । सिक्किमको हिमपहिरोमा परेर तीन जना नेपालीसहित सात जनाको मृत्यु भएको छ । त्यस्तै १३ जना घाइते भएका छन् । सिक्किम सरकारले जारी गरेको विज्ञप्तिअनुसार गान्तोक–नाथुला जेएनएम सडकमा गएको भीषण हिमपहिरोमा परेर चितवनका शिवप्रसाद लामिछाने र आशिका ढकाल तथा रुपन्देहीका मुना शाह श्रेष्ठको मृत्यु भएको हो । तीनै जना नेपालीको शव ल्याउने तयारी भइरहेको छ । नेपालबाट घुम्न गएका उनीहरु अचानक आएको हिमपहिरोमा परेका हुन । त्यस्तै मृत्यु हुनेहरूमा उत्तर प्रदेशका बल सिंह र रेव्या सिंह, कोलकाताका सौरभ रोय चौधरी र प्रितम मात्ये रहेको बताइएको छ । हिम पहिरोका कारण चार सयभन्दा बढी पर्यटक र एक सयभन्दा बढी सवारी साधन फसेको बताइएको छ । पहिरोमा आधा दर्जन बढी सवारी साधनहरु पुरिएको र नाथुला भन्ज्याङलाई सिक्किमको राजधानी गान्तोकसँग जोड्ने जवाहरलाल नेहरु राजमार्ग अवरुद्ध भएको छ । हिउँ पहिरोमा फसेका कम्तिमा दुई दर्जन पर्यटकलाई सेनाले उद्धार गरेको छ । तर, अहिले पनि ८० वटा सवारी साधन र ती सवारी साधनमा रहेका साढे तीन सय बढी पर्यटक हिउँमा फसेको सिक्किम सरकारले जनाएको छ । खराब मौसमका कारण नाथुलामा जान रोक लगाईएको भए पनि पर्यटकहरुले टुर गाइडहरुलाई जबर्जस्ती त्यहाँ लगेको पनि सिक्किम सरकारको भनाइ छ । भारतीय सेनाले मंगलबार साँझ परेपछि रोकेको उद्धार कार्य बुधबार पुनः सुरु गर्ने बताएको छ ।
प्रतिक्रिया