
काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) मा पञ्जाव किंग्सले लगातार दोस्रो जित निकालेको छ । लिगमा बुधबार भएको खेलमा पञ्जावले राजस्थान रोयल्समाथि पाँच रनको रोमाञ्चक जित निकाल्यो । प्रतियोगितामा राजस्थानको भने यो पहिलो हार हो ।
गुवाहिटीस्थित बार्सापारा क्रिकेट रंगशालामा पञ्जावले प्रस्तुत गरेको १९८ रनको लक्ष्य पछ्याउने क्रममा राजस्थानले निर्धारित २० ओभरमा सात विकेट गुमाएर १९२ रनमात्र बनाउन सक्यो । त्यसअघि टस हारेपछि ब्याटिङमा आएको पञ्जावले निर्धारित २० ओभरमा चार विकेट गुमाएर १९७ रनको योगफल खडा गरेको थियो ।
पञ्जावका कप्तान शिखर धवनले ८६ रन बनाएका थिए । धवनले ५६ बलमा नौ चौका र तीन छक्का प्रहार गरे । प्रभसिम्रन सिंहले ६० रन थपे । धवन र प्रभसिम्रनले पहिलो विकेटका लागि ९० रनको साझेदारी गरेका थिए । जितेश शर्माले २७ र मोहम्मद साहरुख खानले ११ रन बनाए ।
राजस्थानका जासन होल्डरले दुई विकेट लिए । युजवेन्द्र चहल र रविचन्द्रन आश्विनले समान एक विकेट लिए ।
प्रतिक्रिया