Pura Samachar

न्युरोड टिम (एनआरटी) र मच्छिन्द्र क्लब बिजयि

प्रकाशित: April 9, 2023
पूरा समाचार

न्युरोड टिम (एनआरटी) र मच्छिन्द्र क्लब बिजयि

काठमाडौं । न्युरोड टिम (एनआरटी) ले सहिद स्मारक ‘ए’ डिभिजन लिगमा हिमालयन शेर्पा क्लबमाथि रोमाञ्चक पूनरागमन जित निकालेको छ ।एनआरटीले १–० ले पछि परेको स्थिति उल्ट्याएर २–१ को पूनरागमन जित निकालेको हो । एन्फा कम्प्लेक्समा आइतबार भएको खेलमा एनआरटीको जितमा रोहन खड्गी र जेनिश प्रजापतिले गोल गरे । शेर्पाका खामिर गिल्सन कनदङ्वाको गोल सान्त्वना बन्यो ।

खेलको १४औं मिनेटमा खामिरको गोलबाट एनआरटी पहिलो हाफमा १–० ले पछि परेको थियो । पहिलो हाफमा १–० ले पछि रहेको एनआरटीले दोस्रो हाफमा उत्कृष्ट प्रदर्शन गर्दै जित निकाल्न सफल भयो ।

६६औं मिनेटमा रोहन खड्गीले गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याए । बराबरीतर्फ धकेलिएको खेलको अन्तिम समयमा जेनिश प्रजापतिले गोल गर्दै एनआरटीलाई रोमाञ्चक जित दिलाए । दोस्रो खेलमा मच्छिन्द्र क्लबका फरवार्ड विमल घर्ती मगर सहिद स्मारक ए डिभिजन लिग अन्तर्गत संकटाविरुद्ध खेलमा प्लेयर अफ द म्याच चुनिएका छन् ।

संकटाविरुद्ध सुरुवाती अग्रता दिलाएका विमलले उत्कृष्ट प्रदर्शन गरेका थिए । उनले अवार्डसहित १० हजार रुपैयाँ प्राप्त गरे ।

खेलको सातौं मिनेटमा ओलावाले अफिजले पेनाल्टी क्षेत्र भित्रबाट गरेको प्रहार गोलरक्षक टिकेन्द्र सिंह थापाले जोगाए । १७ औं मिनेटमा निसेन सुब्बाले गोललाइन अगाडी उत्कृष्ट क्लिअर गर्दै स्कोर गोलरहित नै राखे । मनिष डाँगीले दिएको कटब्याकमा गोलरक्षक बिट भएपनि निसेनले बललाई पछाडी रहेका संकटाका खेलाडीसम्म पुग्न दिएनन् ।

१९ औं मिनेटमा विमलले मच्छिन्द्रलाई अग्रता दिलाए । मिडफिल्डबाट आएको बललाई अघि बढाउने क्रममा गोलरक्षकलाई बिट गर्दै सहजै फिनिस गरे । तर संकटाले २ मिनेट नबित्दै खेल बराबरी गर्यो । मनिष डाँगीले पेनाल्टी क्षेत्र बाहिरबाट सुन्दर गोल गर्दै संकटालाई खेलमा फर्काए । आयुषले दिएको पासलाई मनिषले नियन्त्रणमा लिंदै बायाँ खुट्टाले गरेको प्रहार गोल भएको थियो ।

इन्ज्युरी समयमा चेन्चोले अग्रता दिलाउने सुवर्ण अवसर गुमाए । आन्द्रेस नियाको उत्कृष्ट थ्रु पासमा डिफेन्स बिट हुँदा चेन्चोले हतारमा पहिलो टचमै गरेको प्रहार टिकेन्द्रले सहजै बचाए ।

दोस्रो हाफको ४५ सेकेन्ड नबित्दै मच्छिन्द्रले पुन: अग्रता लियो । निसेन सुब्बाको लो क्रसलाई आफिजले पहिलो टचमै पोस्टतर्फ प्रहार गरेका थिए । उक्त प्रहार गोलरक्षक टिकेन्द्रले बचाएपनि रिबाउन्ड पोस्टभित्र जान पुगेको थियो । टिकेन्द्रले दोस्रो बल बचाउने प्रयास असफल हुँदा मच्छिन्द्र अघि बढेको हो ।

५५ औं मिनेटमा प्रशान्त अवस्थीको क्रसमा आफिजको डाइभिङ हेडर पोस्टमा लागेर फर्कियो । लगत्तै अर्कोतर्फ युसेफ अथ्रिसको लामो दुरीको प्रहारलाई गोलरक्षक विशालले विफल पारे । उक्त रिबाउन्ड प्रहार गर्ने क्रममा जुनिअर एन्कुंगेले विशालमाथि फल गर्न पुग्दा स्थिति असामान्य बन्न पुगेको थियो ।

७० औं मिनेटमा विमलले पेनाल्टी क्षेत्र बाहिरबाट गरेको शक्तिशाली प्रहार गोलरक्षक टिकेन्द्रले मुस्किलले बचाए । ७५ औं मिनेटमा अफिजको प्रहार पुन: पोस्टमा लाग्यो । विमलको थ्रु पासमा अफसाइड ट्रयाप बिट भएपछि आफिजले वन भर्सेस वनमा गरेको प्रहार पोस्टमा लागेको थियो ।

प्रतिक्रिया