Pura Samachar

मिटर ब्याज पीडित र सरकारी टोलीबीच आज पुनः वार्ता हुदै

प्रकाशित: April 10, 2023
पूरा समाचार

मिटर ब्याज पीडित र सरकारी टोलीबीच आज  पुनः वार्ता हुदै

काठमाडौं– मिटर ब्याज पीडित र सरकारी टोलीबीच आज सोमबार पुनः वार्ता हुने भएको छ ।

काठमाडौंको रत्नपार्कस्थित शान्तिवाटिकामा आइतबार दिउँसो दुई पक्षबीच भएको वार्ता निष्कर्षमा नपुगेपछि आज सोमबार बिहान १० बजे पुनः वार्तामा बस्ने सहमति भएको हो ।

वार्तामा सङ्घर्ष समितिले आफ्ना समस्याबारे सरकारलाई जानकारी गराएको थियो भने सरकारी वार्ता टोलीले उक्त समस्याबारे आफूहरू गम्भीर रहेको बताउँदै आज पुनः वार्तामा बसेर समस्या समाधान गर्ने आश्वासन दिएको थियो।

वार्ता सोमबार पुनः बस्ने गरी सकिएको मिटर ब्याज विरुद्ध किसान–मजदुर सङ्घर्ष समितिका संयोजक अवधेश कुशवाहले बताएका छन् । कुशवाहले वार्तामा आफूहरूको मागबारे सरकारलाई जानकारी गराइएको बताए ।

सरकारले मिटर ब्याज पीडितको समस्या समाधानका लागि गृह मन्त्रालयका सहसचिव प्रदीप कोइरालाका नेतृत्वमा वार्ता टोली गठन गरेको छ । पीडित पक्षले मिटर ब्याज असुली गर्नेलाई कडा कारवाही हुनुपर्ने, उनीहरूले आफूहरूमाथि लगाएका सम्पूर्ण मुद्दा फिर्ता गर्नुपर्ने लगायतका माग राखेका छन् ।

प्रतिक्रिया