Pura Samachar

एसीसी प्रिमियर कपमा आज दुई खेल हुदै

प्रकाशित: April 20, 2023
पूरा समाचार

एसीसी प्रिमियर कपमा आज दुई खेल हुदै

काठमाडौं । राजधानीमा जारी एसीयन क्रिकेट काउन्सिल(एसीसी) प्रिमियर कपमा आज बिहिबार दुई खेल हुदैछ ।

मुलपानी मैदान र टियु मैदानमा समान १/१ खेल आयोजना हुदैछ ।

मुलपानी मैदानमा हुने खेलमा समूह ‘ए’ का मलेसिया र साउदी अरेवियाबीच खेल हुदैछ ।

पहिलो खेलमा घरेलु टोली नेपालसँग पराजित भएको मलेसिया दोस्रो खेलमा खेल्दैछ । साउदी भने प्रतियोगिताको पहिलो खेल खेल्दैछ ।

साउदी जितका साथ प्रतियोगिताको सुरुआत गर्न चाहन्छ ।  यस समूहमा २ अंकका साथ नेपाल शीर्ष स्थान र समान २ अंक नै भएको ओमान दोस्रो स्थानमा रहेको छ ।

टियु मैदान कीर्तिपुरमा आयोजना हुने खेलमा समूह ‘बी’ का सिंगापुर र बहराइनबीच खेल हुदैछ ।

मंगलबार भएको पहिलो खेलमा हङकङसँग पराजित सिंगापुर दोस्रो खेलमा पहिलो जित निकाल्न चाहान्छ ।

पहिलो खेल खेल्दै गरेको बहराइन जित सहित प्रतियोगिता सुरुआत गर्न चाहन्छ । समूह ‘बी’ मा २ अंकका साथ युएई शीर्ष स्थानमा रहेको छ । युएईसँग समान २ अंक नै भएको हङकङ दोस्रो स्थानमा रहेको छ ।

दुवै खेल बिहान नौ बजे सुरु हुनेछ । फाइनल बाहेकका हरेक दिन दुवै मैदानमा समान १/१ खेल हुनेछ ।

वैशाख १८ गते सम्म संचालन हुने प्रतियोगिताका खेलहरु कीर्तिपुरस्थित टियु मैदान र मुलपानीमा रहेको क्रिकेट मैदानमा खेल संचालन हुनेछ ।

कुल २४ खेल हुने प्रतियोगिताको फाइनल खेल वैशाख १८ गते टियु मैदानमा आयोजना हुनेछ ।

यस प्रतियोगितामा १० राष्ट्रको सहभागीता रहेको छ । सहभागी १० राष्ट्रलाई दुई समूहमा विभाजन गरिएको छ ।

समूह ‘ए’ मा आयोजक नेपाल सहित मलेसिया,साउदी अरेबिया, कतार र ओमान रहेका छन् । समूह ‘बी’ मा बहराइन,कुवेत,सिंगापुर,हङकङ र युएई रहेका छन् ।

हरेक समूहमा शीर्ष स्थानमा रहने दुई टोली सेमिफाइनल खेल्ने छन् । सेमिफाइनलका विजेता राष्ट्रले फाइनल खेल्ने छ।

फाइनलको विजेता टोली एसीया कपका लागि छनोट हुनेछ । एसीया कप आगामी सेप्टेम्बरमा आयोजना हुनेछ ।

यस्तै शीर्ष तीनमा रहने टोली एसीसी ईमर्जिङ कपका लागि छनोट हुनेछन् ।

प्रतिक्रिया