
काठमाडौं : एसिसी प्रिमियर कप क्रिकेटमा संयुक्त अरब इमिरेट्स (युएई)ले सिंगापुरलाई २०१ रनको विशाल अन्तरले पराजित गरेको छ।
जितका लागि युएईले दिएको ४७२ रनको लक्ष्य पछ्याएको सिंगापुर निर्धारित ओभरमा ९ विकेट गुमाउँदै २७० रनमा समेटियो।
सिंगापुरका लागि मनप्रित सिंहले सर्वाधिक ६६ र थिलिपान ओमाईदिराईले ५२ रन जोडे। सुरेन्द्रर चन्द्रमोहन र कप्तान अरित्र दत्तले ३८/३८ रन बनाए।
युएईका लागि सचित शर्मा, कात्तिक मैयप्पन र आयन अफजल खानले २/२ विकेट लिए।
त्यसअघि त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा टस जितेर ब्याटिङ थालेको युएईले निर्धारित ५० ओभरमा सबै विकेट गुमाएर ४ सय ७१ रन बनाएको थियो। युएईका लागि वृत्य अरविन्दले सर्वाधिक १७४ रन बनाए। १३३ बल खेलेका उनले आफ्नो पालीमा १७ चौका र ७ छक्का हिर्काए।
कप्तान मुहम्मद वासीमले ८२ बलमा ९ चौका र १६ छक्का प्रहार गर्दै १६० रन बनाए। आयन अफजल खानले ५० बलमा ९ चौका र ३ छक्कासहित ७४ रन बनाए।
ओपनर आर्यन लाक्रा ७ बलमा २ चौकासहित १२ रनमा आउट भए। आसिफ खान ११ र रोहन मुस्तफा ३ रनमा आउट भए।
बलिङतर्फ सिङ्गापुरका आदित्य भार्गवले ४ विकेट लिए भने रमेश कालिमुथुले ३ विकेट हात पारे। विनोथ भास्करनले २ विकेट लिँदा मनप्रीत सिंहले १ विकेट लिए।
जितसँगै ४ अंक जोडेको युएई समूह बीको दोस्रो स्थानमा उक्लिएको छ। लगातार तेस्रो हार बेहोरेको सिंगापुर भने अंकविहीन रहेको छ।
प्रतिक्रिया