
काठमाडौं ।
काठमाडौंमा जारी एसिसी प्रिमियर कपको सेमिफाइनलमा नेपालले आज कुवेतविरुद्ध खेल्दैछ । नेपाल र कुवेतबीचको खेल कीर्तिपुरस्थित त्रिवि मैदानमा बिहान ९ बजेदेखि सुरु हुनेछ । नेपाल कुवेतलाई पनि हराउँदै अपराजित रहेर फाइनलको यात्रा गर्न चाहन्छ । समूह चरणमा नेपालले मलेसियालाई ६ विकेट, ओमानलाई ८४ रनले हराउँदा साउदी अरेबियासँग वर्षाका कारण अंक बाँड्यो । ग्रुप स्टेजको अन्तिम खेलमा नेपालले कतारलाई ६८ रनले हरायो ।
नेपाल प्रतियोगितामा लगातार चौथो जितको खोजीमा छ । पाहुना टोली कुवेतले पनि जारी प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गरिरहेको छ । ऊ समूह चरणमा यूएईसँग १४३ रनले पराजित भए पनि बाँकी तीन खेलमा भने लगातार विजयी भयो । नेपाल समूह ‘ए’ विजेता र कुवेत समूह ‘बी’ को उपविजेताको रूपमा सेमिफाइनलमा पुगेका हुन् । अब दुवै टिमको लक्ष्य शनिबार जित हात पार्दै उपाधि नजिक पुग्नु रहेको छ ।
हेड टु हेड नतिजाको कुरा गर्दा हालसम्म नेपाल र कुवेतले एकअर्कासँग ३ खेल खेलेका छन् । जसमा नेपालले २ र कुवेतले १ खेलमा जित हात पारेका छन् । यी दुई टिमको पहिलो भेट २००८ को एसिसी ट्रफी एलिटमा भएको थियो । सो खेलमा नेपालले कुवेतलाई ७ विकेटले हरायो । त्यसपछि नेपाल र कुवेतले २०१० को एसिसी ट्रफी एलिटमा प्रतिस्पर्धा गरे ।
उक्त प्रतियोगितामा कुवेतविरुद्ध नेपाल ८ विकेटले विजयी भयो । यी दुई टोलीले अन्तिमपटक सन् २०१२ मा एकअर्काविरुद्ध खेलेका थिए । उक्त एसिसी ट्रफी एलिटमा कुवेतसँग नेपाल ४ विकेटले पराजित भयो । शनिबार ११ वर्षपछि कुवेतविरुद्ध नेपाललाई हारको बदला लिने मौका छ ।
प्रतिक्रिया