Pura Samachar

युएई नेपालमा जारी एसीसी प्रिमियर कप २०२३ को फाइनलमा प्रवेश

प्रकाशित: April 29, 2023
पूरा समाचार

युएई नेपालमा जारी एसीसी प्रिमियर कप २०२३ को फाइनलमा प्रवेश

काठमाण्डौं । युएई नेपालमा जारी एसीसी प्रिमियर कप २०२३ को फाइनलमा प्रवेश गरेको छ ।

मुलपानीस्थित मुलपानी क्रिकेट मैदानमा शनिबार भएको दोश्रो समेफिाइनल खेलको अन्तिम समयमा वर्षाका कारण खेल रोकिएपछि युएई डकवर्थ लुइस स्टर्न (डिएलएस) नियमको आधारमा ओमानलाई २ रनले पराजित गर्दै फाइनलमा प्रवेश गरेको हो ।

युईले दिएको २३७ रनको लक्ष्य पछ्याउँदै ब्याटिङ्गमा उत्रिएको ओमानले ४३ ओभरमा ६ विकेट गुमाएर १९० रन बनाउँदा वर्षा शुरु भएको थियो । निरन्तर भारी वर्षाका कारण खेल पुन: शुरु नहुने भएपछि म्याचको थर्ड अम्पाएरले युएई २ रनले विजयी भएको निर्णय सुनाएको हो ।

ओमानका लागि कश्यप प्रजापतिले ४३ बलमा ९ चौकाको सहयोगमा सर्वाधिक ४९ रन बनाएर आउट हुँदा जतिन्द्र सिंहले ४२, कप्तान जिशान मकसूदले ४० रन बनाएका थिए । यस्तै मोहम्मद नदीम ५२ बलमा २४ रन बनाएर नटआउट थिए ।

बलिङ्गमा युएईका लागि कार्तिक मयप्पनले ३, बासिल हमिदले २ तथा जहुर खानले १ विकेट लिएका थिए । यसअघि टस हारेर पहिले ब्याटिङ्गमा उत्रिएको युएईले अन्तिम ओभरको चार बल बाँकी रहँदा अलआउट हुँदै २३६ रनको कुल योगफल तयार पारेको थियो ।

युएईका लागि कप्तान मोहम्मद वासीमले ३१ बलमा ४ चौका र १ छक्कासहित सर्वाधिक ४८ रन बनाउँदा रमीज शहजादले ५८ बलमा ६ चौका र १ छक्कासहित ४६ रनको योगदान दिए ।

यस्तै बासिल हमिदले ४३ बलमा ३४, आर्यन लाकारले ६८ बलमा २५, वृत्य अरविन्दले १८ बलमा १८ तथा आयान अफजल खान १० रनमा आउट भए । बलिङ्गतर्फ ओमानका लागि बिलाल खान र जिशान मकसूदले समान ४-४ विकेट लिदा अयान खानले २ विकेट हात पारे ।

अब यएई सोमबार हुने फाइनलमा घरेलु टोली नेपालसँग प्रतिस्पर्धा गर्नेछ । वर्षाका कारण किर्तिपुरस्थित टियु क्रिकेट मैदानमा भएको कुवेतबिरुद्धको पहिलो सेमिफाइनल खेल विना नतिजा रद्द भएपछि नेपाल समूह विजेताको रुपमा फाइनलमा पुगेको हो । यस्तै ओमान र कुवेतले भने अब तेश्रो स्थानको लागि प्रतिस्पर्धा गर्नेछ ।

प्रतिक्रिया