Pura Samachar

चर्च ब्वाइज युनाईटेड सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलको शीर्ष स्थानमा,अर्को दुई खेल बराबरीमा

प्रकाशित: May 6, 2023
पूरा समाचार

चर्च ब्वाइज युनाईटेड सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलको शीर्ष स्थानमा,अर्को दुई खेल बराबरीमा

काठमाडौं । चर्च ब्वाइज युनाईटेड सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलको शीर्ष स्थान उक्लिएको छ ।

च्यासल मैदानमा शनिबार न्युरोड टिम एनआरटीलाई ४-१ गोल अन्तरले हराउँदै चर्च ब्वाइज शीर्ष स्थान उक्लिएको हो।

चर्च ब्वाइजको जितमा अन्जन विष्टले ह्याट्रिक गोल गरे । सुशील शाहले एक गोल थपे ।

एनआरटीका दिपेश आले मगरले एक गोल फर्काए ।

खेलको ४० औं मिनेटमा सुशीलले गोल गर्दै चर्च ब्वाइजलाई सुरुआती अग्रता दिलाएका थिए ।

खेलको ५२ औं मिनेटमा अन्जनले गोल गर्दै चर्च ब्वाइजलाई २-० को अग्रता दिलाए ।

खेलको ६० औं मिनेटमा अन्जनले व्यक्तिगत दोस्रो गोल गर्दै चर्च ब्वाइजलाई ३-० को अग्रता दिलाए ।

खेलको ८५ औं मिनेटमा अन्जनले पेनाल्टी मार्फत ह्याट्रिक पूरा गर्दै चर्च ब्वाइजलाई ४-० को अग्रता दिलाए ।

त्यसपछि खेलको इन्जुरी समयमा दिपेशले गोल गरेपनि चर्च ब्वाइज ४-१ ले विजयी भयो ।

शीर्ष स्थानमा उक्लिएको चर्च ब्वाइजको यो सातौं जित हो । चर्च ब्वाइजले १५ खेलमा २७ अंक जोडेको छ ।

एनआरटीको छैटौं हार हो । एनआरटीले १५ खेलमा १७ अंक जोडेको छ ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शनिबार थ्री स्टार र फ्रेन्ड्सले गोलरहित बराबरी खेल्दै अंक बाडेका हुन् ।

प्रतिस्पर्धात्मक खेलमा दुबै टोलीले पाएको अवसरलाई सदुपयोग गर्न सकेनन् ।

यस बराबरीसँगै थ्री स्टारले १५ खेलमा २४ अंक जोडेको छ ।

थ्री स्टार तेस्रो स्थानमा रहेको छ ।

फ्रेन्ड्सले १५ खेलमा १६ अंक जोडेको छ ।

फ्रेन्ड्स १२ औं स्थानमा रहेको छ ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शनिबार सातदोबाटो र मनाङले गोलरहित बराबरी खेल्दै अंक बाडेका छन् ।

प्रतिस्पर्धात्मक खेल दुबै टोलीले पाएको अवसरलाई सदुपयोग गर्न सकेनन् ।

खेलको ३७ औं मिनेटमा सातदोबाटोका विलियम ओपोकुको सशक्त प्रहार मनाङका गोलकिपर दीप कार्कीले जोगाए।

यस्तै ४३ औं मिनेटमा मनाङका कोफी टिमोथीले गोल गरेका थिए । तर, अफसाइड रहदा उनको गोलले मान्यता पाएन।

यस बराबरीसँगै सातदोबाटोले १५ खेलमा २३ अंक जोडेको छ । मनाङले १५ खेलमा १९ अंक जोडेको छ।

खेलपछि मनाङका नवनियुक्त मुख्य बिष्णु गुरुङले ३ अंकको लागि खेलेको तर १ अंकमा समेत खुसी रहेको बताए ।

सातदोबाटोकाका मुख्य प्रशिक्षक सनोज श्रेष्ठले स्कोरमा चुक्दा ३ अंक गुमाउनु परेको बताए ।

प्रतिक्रिया