काठमाडौं । इन्डियन प्रिमियर लिग(आइपीएल)को सर्वाधिक सफल टोली मुम्बई ईन्डियन्सलाई सहज रुपले हराउदै चेन्नाई सुपर किंग्स दोस्रो स्थानमा उक्लिएको छ ।
चेन्नाईको घरेलु मैदान एमए चितम्बरममा मुम्बई ६ विकेटले पराजित भएको हो ।
मुम्बईले दिएको १ सय ४० रनको लक्ष्य चेन्नाईले १७ दशमलब ४ ओभरमा ४ विकेट गुमाएर पूरा गर्यो ।
चेन्नाईको जितमा ओपनर डेभोन कन्वेले ४२ बलमा ४ चौकाको सहयोगमा ४५ रन बनाए । अर्का ओपनर ऋतुराज गायकवाडले १६ बलमा ४ चौका र २ छक्काको सहयोगमा ३० रन बनाए ।
पहिलो विकेटका लागि गायकवाड र कन्वेले २५ बलमा ४६ रनको महत्वपूर्ण साझेदारी गरे । अजिक्या रहाणेले १७ बलमा २० तथा शिभम दुवेले १८ बलमा ३ छक्काको सहयोगमा अविजित २६ रन बनाए ।
मुम्बईका लागि पीयुष चावलाले २ तथा आकाश मधवाल र ट्रिस्टन स्टुब्सले समान १/१ विकेट लिए ।
त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको मुम्बईले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १ सय ३९ रन बनायो ।
मुम्बईका लागि निहाल वाधिराले ५१ बलमा ८ चौका र १ छक्काको सहयोगमा ६४ रनको अर्धशतकीय ईनिङ खेले ।
टी-ट्वान्टीमा पहिलो अर्धशतक बनाएका वाधिराले सुर्यकुमार यादवसँग चौथो विकेटका लागि ४६ बलमा ५५ रनको साझेदारी गरेका थिए ।
यादवले २२ बलमा २६ रन बनाए । वाधिराले ट्रिस्टन स्टुब्ससँग पाँचौ विकेटका लागि ५४ रनको साझेदारी गरे । स्टूब्सले २१ बलमा २० रन बनाए ।
मुम्बईका अन्य खेलाडीले दोहोरो अंकमा रन बनाउन सकेनन् ।
चेन्नाईका लागि मथिशा पथिरानाले ३ तथा दीपक चहर र तुसारदेश पान्डेले समान २/२ विकेट लिए ।
११ खेलमा ६ जित र ४ हारका साथ १३ अंक जोडेको चेन्नाई १० टोली सहभागी लिगको दोस्रो स्थानमा उक्लिएको छ ।
१० खेलमा ५ जित तथा ५ हार सहित मुम्बई छैटौं स्थानमा कायम रहेको छ ।
प्रतिक्रिया