काठमाण्डौ – देशभर गर्मी बढ्न थालेको छ । बिहानैदेखि घाम चर्किँदा अधिकतम तापक्रम बढ्न थालेको छ ।
यस्तै, सिमरा, विराटनगर, धरान, जनकपुरको अधिकतम तापक्रम ४० डिग्री सेल्सियसको हाराहारीमा पुगेको छ ।
अन्य ठाउँमा पनि तापक्रम बढिरहेको छ । बिहान बेलुका खासै समस्या नभए पनि दिउँसोको समयमा टन्टलापुर घाम लाग्दा घरबाहिर हिँडडुल गर्न मुस्किल छ ।
तराईका जिल्लामा दिउँसोको समयमा बजार सुनसान जस्तै हुन थालेको छ । तत्काल पानी पर्ने सम्भावना नरहेकाले तापक्रम अझै बढ्ने मौसमविद् गोविन्द झाले बताउनुभयो ।
उहाँका अनुसार तत्कालका लागि पानी पार्ने कुनै पनि प्रणाली विकसित भएको छैन ।
प्रि मनसुनको समय भएकाले पहाडी क्षेत्रको केही ठाउँमा बेलुकीपख मौसम आंशिकदेखि सामान्य बदली भएर फाट्टफुट्ट पानी पर्ने सम्भावना रहे पनि तराईका जिल्लामा बेलुकासम्म नै घाम चर्किने अनुमान छ ।
प्रतिक्रिया