Pura Samachar

राजस्थान रोयल्स तेस्रो स्थानमा उक्लियाे

प्रकाशित: May 12, 2023
पूरा समाचार

राजस्थान रोयल्स तेस्रो स्थानमा उक्लियाे

काठमाडौं । यशस्वी जैसवालले ब्याटिङ तथा युजवेन्द्र चहलले बलिङमा उत्कृष्ट प्रदर्शन गरेपछि राजस्थान रोयल्सले इन्डियन प्रिमियर लिग (आइपिएल) मा घरेलु टोली कोलकाता नाइटसराइडर्समाथि नौ विकेटको सहज जित निकालेको छ ।

जितसँगै १२ खेलमा १२ अंक जोडेको राजस्थान तेस्रो स्थानमा उक्लिएको छ । पराजय ब्यहोरेको कोलकाता समान खेलबाट १० अंकका साथ सातौं स्थानमा छ ।

इडेन गार्डेनमा बिहिबार सम्पन्न खेलमा कोलकाताले प्रस्तुत गरेको एक सय ५० रनको लक्ष्य राजस्थानले १३.१ ओभरमा मात्र एक विकेट गुमाउँदै भेट्टायो ।

राजस्थानका लागि जैसवालले ४७ बलमा १२ चौका र पाँच छक्काको मद्दतमा अविजित ९८ रन बनाए । यसैगरी कप्तान सन्जु सामसन २९ बलमा पाँच छक्का र दुई चौकाको मद्दतमा ४८ रनमा अविजित रहे ।

दोस्रो विकेटका लागि जैसवाल र सामसनले अविजित एक सय २१ रनको साझेदारी गरे ।

यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको कोलकाताले निर्धारित २० ओभरमा आठ विकेट गुमाउँदै  एक सय ४९ रनको योगफल तयार पारेको थियो ।

कोलकाताका लागि वेङ्कटेस अय्यरले ४२ बलमा चार छक्का र दुई चौकाको मद्दतमा ५७ रन बनाए । यसैगरी कप्तान नितिश रानाले २२, रहमानुल्लाह गुर्वाजले १८, रिंकु सिंहले १६ तथा जेसन रोय र आन्द्रृे रसेलले समान १० रन जोडे ।

तेस्रो विकेटका लागि अय्यर र रानाले ४१ रनको साझेदारी गरे ।

राजस्थानका लागि चहलले चार, ट्रेन्ट बोल्टले दुई तथा सन्दीप शर्मा र केएम आसिफले समान एक विकेट लिए ।

प्रतिक्रिया