Pura Samachar

सहिद स्मारक ए डिभिजन लिग: आज तीन खेल हुदै

प्रकाशित: May 12, 2023
पूरा समाचार

सहिद स्मारक ए डिभिजन लिग: आज तीन खेल हुदै

शुक्रबार, वैशाख २९, २०८०
काठमाडौं – सहिद स्मारक ए डिभिजन लिग अन्तर्गत शुक्रबार रेलिगेसन क्षेत्रमा रहेका क्लबहरुबीच मध्य तालिकामा उक्लनका लागि प्रतिस्पर्धा हुँदैछ । आज अंक तालिकाको तल्लो भागमा रहेका ७ मध्य ६ टोली प्रतिस्पर्धामा हुनेछन् ।

दिउँसो ३ बजे दशरथ रंगशालामा संकटा क्लबले नेपाल पुलिस क्लबसँग खेल्नेछ । पछिल्लो खेलमा सातदोबाटोलाई हराउँदै संकटाले ६ खेलको जितविहिन यात्रामा पूर्णविराम लगाएको थियो । यता पुलिस भने पछिल्लो दुई खेलमा जित हासिल गर्न नसकेको अवस्थामा छ । विदेशी खेलाडीको आगमनपछि पुलिसले लय समातेको छ । आजको खेलमा जित हासिल गरे पुलिसले पुछार छाड्ने सम्भावना छ । पहिलो लेगमा संकटाले च्यासल मैदानमा ३-० को जित दर्ता गरेको थियो । गत सिजन पनि संकटा नै १-० ले विजयी भएको थियो ।

दिउँसो ३ बजे नै एन्फा कम्पलेक्समा मनाङ मर्स्याङ्दी क्लब र हिमालयन शेर्पा खेल्नेछन् । नयाँ प्रशिक्षक विष्णु गुरुङको आगमनपछि मनाङले लगातार दुई खेल बराबरी खेलेको छ । यता शेर्पा ४ खेलको अपराजित यात्रापछि जावलाखेलसँग पछिल्लो खेलमा हारेको थियो । पहिलो लेगमा यी दुई टोलीले १-१ को बराबरी खेलेका थिए । आजको खेलमा विंगर सुमित श्रेष्ठ मनाङको टोलीमा उपलब्ध छैनन् । हिमालयन शेर्पा र मनाङको समान २० अंक रहेकाले आजको खेल जित्ने टोलीले छैटौं स्थानमाथि पुग्ने अवसर छ ।

साँझ ६ बजे दशरथ रंगशालामा न्यु रोड टिम (एनआरटी) र फुटबल क्लब खुमलटार खेल्दैछन् । खुमलटारका लागि आज दुई मुख्य खेलाडी अनुपस्थित रहनेछन् । लिगका सर्वाधिक गोलकर्ता मेसुके ओलोमोउ र मिडफिल्डर जय गुरुङ आज तीन पहेंलो कार्डका कारण प्रतिबन्धमा छन् । एनआरटीले पछिल्लो ५ मध्य एक खेल मात्र जितेको छ । यता खुमलटारले भने पछिल्लो ५ मा ३ खेल हारेको छ । पहिलो लेगमा एनआरटीले खुमलटारलाई ३-१ ले हराएको थियो ।

प्रतिक्रिया