
नक्कली भुटानी शरणार्थी प्रकरणले आज देश तरंगित बनेको छ । पूर्व गृहमन्त्रीदेखि देशका ठूलै नेता यो प्रकरणमा तानिएका छन् र अझै तानिँदै छन् । आज देशमा चर्चा यसै विषयमा छ । गाउँका चौतारीदेखि गाई गोठसम्म र सहरका चोकचोक र चियापसलमा यही प्रकरणको मात्र चर्चा छ । यसरी मान्छे ठगेर नेता भएका रहेछन् भन्ने भान जनतामा पर्न थाल्यो ।
यो प्रकरणमा अझै धेरै मान्छे समातिनेवाला छन् भन्ने सुनिन्छ । अपराधीहरूलाई छाड्नु हुँदैन । सरकारले कानुनबमोजिम कारबाही गरेर देखाउनुपर्छ । तब मात्र सरकार लोकप्रिय बन्न सक्छ । आज सरकारले जे गर्दै छ राम्रै गर्दै छ । राम्रो काम गर्नेको प्रशंसा गर्न हिचकिचाउनु हुँदैन । मैले यो सन्दर्भको विषयलाई प्रशंसा गर्न चाहान्छु । गलत कामको विरोध पनि गर्छु । सरकारले काम नगर्दा सबैभन्दा विरोध गर्ने मै होला । तर देश काल परिस्थितिअनुसार सरकारले राम्रो काम गर्दै जाँदा प्रशंसा गर्नु मेरो अधिकारको कुरा हो । आज प्रधानमन्त्री पुष्पकमल दाहाल र गृहमन्त्री नारायणकाजी श्रेष्ठले ठूलो जोखिमका साथ काम गरिरहेका छन् । यसलाई जनताले वा वा भनिरहेका छन् । जनताको साथ र सदभाव रहिरहेको छ । अझै आक्रामक ढंगले अघि बढ्नुपर्ने आवश्यकता देखियो । नक्कली भुटानी शरणार्थी प्रकरण ठूलो अपराध हो । यो अपराधलाई लुकाउने र छिपाउने कोशिस कसैले नगरोस् । यो राजनीतिमा देखिएको अपराधीकरणको हो । यस प्रकरणमा राज्य संयन्त्र नै लागेको देखिन्छ, किनकि यहाँ पूर्वगृहमन्त्री नै तानिनुले सबै कुरा छर्लंग हँुदै छ ।
नेपालमा धेरै राजनीतिक दल र तिनका नेताहरू नै भ्रष्ट भए । जसले गर्दा देश र जनताको भविष्य अन्धकार हुँदै छ । नेताहरूलाई देश र जनताको कुनै चिन्ता छैन । चिन्ता हुने भए यसो गर्दै हिँड्थे र ? सबै भ्रष्ट भएपछि के आश गर्ने ? भ्रष्टाचारीलाई कसैले जोगाउनेतिर लाग्नु हुँदैन । आज देशमा भ्रष्टाचार मौलाउने काम गरेको छ । भ्रष्टाचार भनेको देशको सबैभन्दा ठूलो रोग हो । यो रोगको समयमै उपचार भएन भने जे पनि हुन सक्छ । हामीले देखिरहेका छौँ, राजनीतिमा बिचौलियातन्त्र हाबी भएको छ । राजनीति व्यापारीकरण र व्यवसायीकरण भएको छ । यस्तो भएपछि देशको प्रगति कसरी हुन्छ ? नयाँ पुस्ताले कस्तो गर्दै जान्छन् त्यो त हेर्न बाँकी छ । नयाँ पुस्ताको राजनीति दलहरू पनि उदय भएका छन् । सबै कुरा हेर्न र बुभ्mन अझै पनि बाँकी छ । जनताको काम गर्ने दल र नेताको खाँचो अब छ । पुरानो पुस्ताकै सिको नयाँ पुस्ताले गर्न थाले भने हाम्रो भविष्य सकियो भनेर जाने हुन्छ । वडा, जिल्ला हुँदै देशका नेता भ्रष्टाचारमा चुर्लुम्म डुबेका छन् ।
यहाँ राज्यको शक्तिको आड, प्रधानमन्त्री, मन्त्री र नेताको शक्तिको आडमा देशको ढुकुटी सक्ने काम भएको छ । गाउँदेखि राष्ट्रिस्तरसम्म नेतामा परिवारवादको प्रवृत्ति बढेको छ । भ्रष्टाचार गर्न परिवार नै लागेका छन् । केन्द्रीय र राष्ट्रियस्तरमा पनि परिवारको दबदबा भयो । यसले गर्दा नेपालको राष्ट्रिय राजनीति बडो संकटमा छ । मुलुकमा स्थायित्व छैन । जताततै विकृति, विसंगति झांगिएको छ । सुशासन छैन । जनतामा राजनीतिक नेतृत्वप्रति चरम निराशा देखिन्छ । नेतृत्वप्रति वितृष्णा पैदा हुनु भनेको देशका लागि ठूलो दुर्भाग्य हो । पछिल्लो चुनावी परिणामले राम्रो नतिजा दिन सकेन । किनभने यो परिणामले राजनीति अस्थिरता बोकेर आएको छ ।
जनताका प्रतिनिधि नै देशप्रति बेइमान भए । सबै नेता इमानदार नभएर समस्या देखिएको छ । खराब प्रणाली र व्यवस्था भए पनि नेता इमानदार भए परिणाम राम्रो आउँदो रहेछ । तर, व्यवस्था र प्रणाली जति राम्रो भए पनि नेता खराब भए भने परिणाम सकारात्मक आउँदैन । नेपालमा भएको यही हो । नेपालमा लोकतन्त्र छ नि । तर, लोकतन्त्र जति राम्रो भए पनि राजनीतिक नेतृत्व राम्रो भएन । नेपाली राजनीतिमा यो प्रवृत्ति हटेन । परिवारवादले छोडेन । राजनीतिक सिद्धान्त र पद्धति हराउँदै गयो । नेतातन्त्र हाबी भयो । मोजमस्तीमा नेतृत्व लाग्यो । राजनीतिमा नेताका छोराछोरी, श्रीमतीसहित परिवारको रजगज हुन थाल्यो । जसले गर्दा पछिल्लो समयमा राजनीतिक अपराधीकरणमा परिवारवाद लागेको छ । राजनीतिलाई ठीक दिशामा ल्याउन राजनीतिक नेतृत्व नै ठीक हुनुपर्छ । नेतृत्व ठीक भए मात्रै देश बन्छ ।
नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने धन्दामा संलग्न सबै कानुनी दायरामा आउनुपर्छ । यो मानव तस्कर हो । मानव तस्कर गर्नेलाई कानुन बमोजिम कारबाही अघि बढाउनुपर्छ । कसैको दबाब र प्रभावमा परेर यो मुद्दालाई खुकुलो बनाउने काम गर्नु उचित हुने छैन । बहालवाला सचिव र राजनीतिक दलकै नेता यस्तो धन्दामा फस्नु भनेको देशकै बेइज्जत हो । उच्चपदस्थ कर्मचारीको संलग्नता भेटिएपछि अब अरू थप अनुसन्धान गर्नुपर्ने आवश्यकता देखिएको छ । यसरी उच्चपदस्थ कर्मचारी र ठूला नेता गैरकानुनी धन्दामा लाग्न लाज लाग्नुपर्ने हो । देशकै पूर्वउपप्रधानमन्त्री भइसकेका नेकपा एमालेका सचिव टोपबहादुर रायमाझी र बहालवाला सचिवको यो मुद्दामा नाम जोडिनु भनेको आश्चर्यको विषय बनेको छ ।
पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी अझैसम्म फरार छन् । यद्यपि, नेपालमा भ्रष्टाचारजन्य घटनामा उच्च राजनीतिक व्यक्ति र उच्च तहका प्रशासक संलग्न भएको यो पहिलो घटना भने होइन । विगतमा पनि भ्रष्टाचारजन्य कार्यमा पहुँचवाला व्यक्तिको संलग्नता भेटिने गर्दथ्यो । तर, सत्ता र शक्तिको आडमा उनीहरूलाई चोख्याउने काम हुने गर्दथ्यो । अब त्यस्तो नहोस् । नक्कली भुटानी शरणार्थी प्रकरणमा केही व्यक्तिको नाम जोडिएपछि यो विषय यतिबेला चर्चाको विषय नै बनेको छ । राजनीतिमा सक्रिय व्यक्ति यस्ता घटनामा संलग्न हुनु भनेको देश र जनताप्रतिको बेइमानी हो । यस्ता नेताबाट जनताले के सिक्ने ? के आश गर्ने ? प्रश्नहरू धेरै उठेका छन् ।
नक्कली भुटानी शरणार्थी प्रकरण आफैँमा एउटा गम्भीर अपराध हो । नक्कली शरणार्थी बनाएर नेपाली नागरिकलाई अमेरिका पठाउने जुन धन्दा यति बेला छताछुल्ल भएको छ, त्यसले सबैको आँखा खुलाइदिएको छ । यो धन्दामा संलग्नलाई कानुनबमोजिम कारबाही हुनैपर्छ । कुनै पनि अर्थमा तिनलाई उन्मुक्ति दिनुहुन्न । घटनामा संलग्न केही व्यक्ति पक्राउसमेत परिसकेका छन् । अभियोगमा संलग्नलाई पक्राउ गर्न प्रहरीले जुन सक्रियता देखाएको छ । यो प्रशंसनीय नै छ । अब फेरि यस्तै प्रकृतिका धन्दा नदोहोरियोस् भन्ने हाम्रो भनाइ हो । नक्कली शरणार्थी बनेर अमेरिका जानेलाई पनि कारबाहीको दायरामा ल्याउनुपर्छ ।
पूर्वगृहमन्त्रीसमेत रहेका बालकृष्ण खाँण पक्राउ परेपछि आज देशको राजनीतिमा उथलपुथल आउने देखिएको छ । अब भ्रष्टाचारविरुद्ध अभियानमा सरकारले खुट्टा टेक्न हुँदैन । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सार्वजनिक कार्यक्रममा भ्रष्टाचारविरुद्ध महाअभियान सुरु भएको उद्घोष गरेका छन् । नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्वमन्त्रीसमेत रहेका एमाले नेता टोपबहादुर रायमाझी, खाँणलगायत कतिपय प्रभावशाली नेतासमेत जोडिएका छन् । प्रधानमन्त्री प्रचण्डले पटकपटक ट्रेलर मात्रै देखिएको तर फिल्म देख्न बाँकी रहेको भनिरहेका छन् । भ्रष्टाचारका फाइल खोल्दै जाँदा धेरै दलका धेरै नेताको संलग्नता पुष्टि हुँदै जाने खतरा पनि छ ।
बिगतमा ललिता निवास जग्गा प्रकरण, वाइडबडी, यती, ओम्नी लगायतका घटनामा सरकारले केही गर्न सकेन । अहिले भने पूर्वगृहमन्त्री, बहालवाला सचिवलागयत अन्य उच्चपदस्थ व्यक्ति पक्राउ परेका छन् । नक्कली भुटानी शरणार्थी प्रकरणमा सरकारले भ्रष्टाचारविरुद्ध राम्रो सन्देश दिएको छ । पक्राउ गर्नु मात्रै ठूलो कुरा होइन, कार्यान्वयन पक्ष ठूलो कुरा हो । कतिपय भ्रष्टाचारका ठूला घटनामा संलग्नलाई पक्राउपछि सरकारले चोख्याएर छाड्ने काम पनि बिगतमा गदै आएको छ । यो राम्रो कुरा होइन । घटनालाई राजनीतिक प्रतिशोधका रूपमा नहेरी सत्यतथ्यलाई बाहिर ल्याएर दोषीमाथि कारबाही गर्ने काम सरकारले खुट्टा नकमाइ गरोस् । त्यसो भयो भने मात्र देशमा कानुनी शासन भएको अनुभूति हुनेछ ।साभार souryaonline
प्रतिक्रिया