Pura Samachar

रोयल च्यालेन्जर्स बैंग्लोरले प्लेअफको सम्भावना जीवितै

प्रकाशित: May 15, 2023
पूरा समाचार

रोयल च्यालेन्जर्स बैंग्लोरले प्लेअफको सम्भावना जीवितै

काठमाडौं ।

भारतमा जारी इण्डियन प्रिमियर लिग (आइपिएल) मा रोयल च्यालेन्जर्स बैंग्लोरले प्लेअफको सम्भावना जीवितै राखेको छ । आइतबार भएको खेलमा राजस्थान रोयल्सलाई ११२ रनले हराउँदै बैंग्लोरले प्लेअफको सम्भावना जीवितै राखेको हो ।

गत संस्करण उपविजेता राजस्थानको प्लेअफ सम्भावना भने निकै कठिन बनेको छ । आफ्नो १२ औँ खेलमा बैंग्लोरले दिएको १ सय ७२ रनको लक्ष्य पछ्याएको राजस्थान १०.३ ओभरमा ५९ रनमै अलआउट भयो । उसका लागि शिमरोन हेटमायरले ३५ र जो रूटले १० रन बनाए । बाँकी ब्याटरले भने दोहोरो अंकमा समेत रन जोड्न सकेनन् ।

बैंग्लोरका लागि वेन पार्नेलले ३, माइकल ब्रेसवेल, कर्ण शर्माले २/२, मोहम्मद सिराज र ग्लेन म्याक्सवेलले १/१ विकेट लिए । त्यसअघि जयपुरस्थित सवाइ मानसिंह स्टेडियममा टस जितेर ब्याटिङ रोजेको बैंग्लोरले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १ सय ७१ रन बनायो ।

उसका लागि कप्तान फाफ डु प्लेसिस र ग्लेन म्याक्सवेलले अर्धशतकीय पारी खेले । ४४ बलको सामना गरेका फाफले ३ चौका र २ छक्कासहित ५५ रन बनाए । यस्तै, म्याक्सवेलले ३३ बलमा ५ चौका र ३ छक्काको सहयोगमा ५४ रनको इनिङ खेले ।

अनुज रावतले ११ बलमा २९ रनको योगदान दिए । विराट कोहली १८ रनमा आउट भए । राजस्थानका लागि केएम आसिफ, एडम जम्पाले २/२ र सन्दीप शर्माले १ विकेट लिए । यो जितसँगै बैंग्लोर अंक तालिकाको पाँचौं स्थानमा उक्लिएको छ । उसले १२ खेलमा १२ अंक जोडेको छ ।

हारपछि राजस्थान भने छैटौँ स्थानमा खस्किएको छ । उसले पनि १३ खेलमा १२ अंक नै जोडेको छ । तालिकाको शीर्ष स्थानमा भने गुजरात टाइटन्स रहेको छ । उसले १२ खेलमा १६ अंक जोडेको छ ।

 

प्रतिक्रिया